विद्युतीय सवारी (ईभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ। विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो।
र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जामन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे।
‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्यालीले स्वदेशी विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा सहयोगी सावित हुनेछ’, उनले भने, ‘हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ।’
इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताए। सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ। त्यसका लागिसमेत विद्युतीय सवारी र्यालीले थप प्रवद्र्धन हुने उनको आशा छ।
‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य लिएको छ, यसलाई सार्थक बनाउन पनि इभी र्यालीले सहयोग गर्छ’, उनले भने, ‘विद्युतीय सवारीले स्वदेशी विद्युत् खपत बढाउन सहयोगी हुनुका साथै पर्यावरणका लागि उपयुक्त हुन्छ।’
एक्स्पोको पहिलो दिन तीनवटा प्राविधिक सत्र राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्नेछन्। रासस
Shares

प्रतिक्रिया