राष्ट्रपति भण्डारीले शनिबार ०७२ वैशाख १२ को भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको अवलोकन गरेकी छिन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले राष्ट्रपति भण्डारीलाई धरहरा पुनर्निर्माणस्थलमा भइरहेको कार्यप्रगतिको जानकारी गराएका थिए।
धरहरा जीआई इटिसी रमन जेभीले निर्माण गरिरहेको छ। कम्पनीका प्रोजेक्ट मेनेजर श्याम श्रेष्ठले राष्ट्रपति भण्डारीले धरहरा निर्माणस्थलको अवलोकन गरेर जानकारी लिएको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘खास उहाँले केही भन्नुभएन। प्राधिकरणका सचिव शिवहरि शर्माले निर्माण प्रगतिबारे ब्रिफिङ गर्नुभयो, प्रमुख कार्यकारी सुशील ज्ञवालीले प्रोजेक्ट देखाउनुभयो, मास्टरप्लानबारे जानकारी गराउनुभयो।’

श्रेष्ठका अनुसार अन्डरग्राउन्डसहित २२ तलाको धरहरा निर्माण हुनेछ। सँगै ४ सय वटा गाडी र बाइक ७ सयवटा पार्किंग गर्न मिल्ने गरी पार्किङस्थल हुनेछ। त्यस्तै टक्सार भवनमा म्युजियम समेत निर्माण हुनेछ। सुन्धारा र भीमसेन टावरको रेस्टोरेसन गरेर जस्तो छ त्यस्तै राखिने उनले जानकारी दिए। धारामा भने सुनको जलप लगाई पानी आइरहने बनाइनेछ।

भाैतिक प्रगति ३७ प्रतिशत, वित्तीय २७ प्रतिशत
श्रेष्ठले धरहरा निर्माणको भौतिक प्रगति ३७ प्रतिशत सकिएको र वित्तीय प्रगति २७ प्रतिशत रहेको जानकारी दिए। हाल २२ मध्ये २ वटा अन्डरग्राउन्डसहित सातौँ तलाको काम भइरहेको छ। सन् २०२० को अक्टोवरमा सकिनुपर्ने भए पनि साइट क्लियरेन्सजस्ता समस्याका कारण केही पछि धकेलिने श्रेष्ठले बताए। हाल १ महिनामा दुईतलाको काम सम्पन्न भइरहेको उनको भनाइ छ।

अवलोकनपछि राष्ट्रपति भण्डारीले समयमै सक्नुपर्ने बताएको श्रेष्ठले जानकारी दिए। शनिबार नै राष्ट्रपति भण्डारीले अन्य सम्पदाको पनि पुनर्निर्माण स्थलमै पुगेर जानकारी लिएकी थिइन्। (तस्बिरहरूः रासस)

प्रतिक्रिया