गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन परिणाम छानविन गर्न स्वतन्त्र कम्पनी प्रस्ताव गर्न राजेन्द्र कुमार शर्मा (आरके) समूहलाई ५ दिनको समय दिइएको छ।
कार्तिक ३ गते भएको अधिवेशनमा धाँधलीको आरोप लागेपछि अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी प्रस्ताव गर्न आग्रह गरेको हो।
संघले निर्वाचनको मतपरिणामलाई लिएर उठेका सवाल सम्बोधनका लागि अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी जसमा नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी प्रस्ताव गर्न राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा. केशव पौडेललाई पत्रचार गरेको थियो।
संघका अनुसार पहिलो पटक २१ अक्टोवर २०२३ र दोस्रो पटक २७ अक्टोबर २०२३ मा पत्राचार गरिएको थियो। तर शर्माको नेतृत्वमा समानान्तर कमिटी गठन गरेपनि कुनै स्वतन्त्र कम्पनी प्रस्ताव गरेका छैनन्।
‘उहाँहरूबाट हालसम्म पनि कुनै जवाफ नआएकोले अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ मा पुनः पत्राचार गरिएको छ,’ संघका प्रवक्ता फणिन्द्र पन्तले भने।
‘तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिटको व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने व्यहोरा समेत जानकारी गराइन्छ,’ जारी विज्ञप्तीमा उल्लेख छ।
Shares

प्रतिक्रिया