ad ad

कारोबार


ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

सस्तो ब्याजदरमा दीर्घकालीन ऋण दिन आग्रह
ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

नेपालखबर
भदौ २७, २०८० बुधबार १८:२६, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ।

बुधबार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको बताए।

उनीहरुले सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसँग आग्रह गरेका छन्।

इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेकाले २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए।

'सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ। नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्', कार्कीले भने, 'किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ।'

एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोन्जेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, सामाज र सरकार (ईएसजी) लाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए। 

२०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आइएफसीका मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे।

इप्पानका उपाध्यक्ष आशीष गर्गले नेपालको जलविद्युत उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए।

उनले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना (४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने) मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे। 

पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ।

त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए।

इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे। 

एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासंग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृव लिन लामाले आग्रह गरे।

एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ। त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली-१ जलविद्युत आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ।

छलफलमा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की सहित वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, उपाध्यक्षहरु आशिष गर्ग, आनन्द चौधरी र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सल्लाहकार मनोज गोयल र मोतीलाल दुगड लगायत सहभागी थिए।

एफएमओका तर्फबाट सीईओ माइकलसहित म्यानेजर जेसुन हान, वरिष्ठ लगानी अधिकृत आर्नो डे भेट्टे र एसिया क्षेत्रको ऊर्जा हेर्ने म्याथ्यू रिबेइरो-नोर्ले छलफलमा सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .