ad ad

कारोबार


टेरामक्सबारे एनसेल : हामी अध्ययन गर्दैछौँ, ग्राहकको गोप्य डाटा अरुलाई दिँदैनौँ

टेरामक्सबारे एनसेल : हामी अध्ययन गर्दैछौँ, ग्राहकको गोप्य डाटा अरुलाई दिँदैनौँ

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १६:५६, काठमाडौँ

मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जिएटाले टेरामक्ससम्बन्धी प्राविधिक अध्ययनपछि मात्रै सिस्टम जडान गर्ने नगर्ने निर्णय हुने जनाएको छ।

एनसेलले टेरामक्ससम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुने जनाएको हो। 

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकको गुणस्तर र 'फ्रड' कन्ट्रोल गर्न भन्दै नयाँ सिस्टम जडानका लागि दबाब दिँदै आएको छ। 

तर ग्रहाकको गोपनीयता रेकर्ड हुने र बाहिरिन सक्ने डरले सार्वजनिक रुपमा विरोध भइरहेको छ। नेपाल टेलिकम र एनसेल दुवै टेरामक्समा अहिलेसम्म जोडिएका छैनन्। 

‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधिबारे जबसम्म स्पष्ट हुँदैनौँ, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुने छैन,’ एनसेलका एक अधिकारीले नेपालखबरसँग भने,‘ग्राहकको गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कसैलाई दिने छैनौँ।’ 

उनले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधिबारे आफूहरु अध्ययनकै चरणमा रहेको पनि उल्लेख गरेका छन्।

नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी भएको उल्लेख गर्दै एनसेलका ती अधिकारीले  ग्राहकको गोपनीयतामा नेपालको कानुनको पूर्ण पालना गर्दै आएको जनाएको छ। 

‘ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो। हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं,’ कम्पनीले भनेको छ।  
 
एनसेलले ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिएको बताउँदै कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति नदिएको उल्लेख गरेको छ। 

‘हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत भएका छैनौँ,’ एनसेलका ती अधिकारीले भनेका छन्। 

एनसेलले आफ्नो सिस्टमलाई टेरामक्ससँग इन्टिग्रेट-कनेक्ट अर्थात नजोडेको स्पष्ट पारेको छ। 
 
‘टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं,’ कम्पनीका ती अधिकारीले अगाडि भने,‘ग्राहकको गोपनीयता रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .