कारोबार


स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौं : वन्डर्स नेपाल

स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौं : वन्डर्स नेपाल

नेपालखबर
साउन २१, २०८० आइतबार १३:५०, काठमाडौँ

वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’ का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ।

यसका लागि योजना अनुमति, उचाई अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स प्रालिले स्पष्ट पारेको छ।

स्काई वाक आधिकारिक रुपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै आफूहरू उत्साही भएको पनि वन्डर्स प्रालिले जनाएको छ।

‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरुबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरु जस्तैः श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्ण रुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं’ वन्डर्स प्रालिले आफ्नो पत्रमा उल्लेख गरेको छ, ‘हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ।’

स्काई वाक भ्रमण गर्ने आगन्तुक, यस व्यवसायलाई सञ्चालनमा ल्याउन सहयोग गर्ने कम्पनीका शेयरधनी तथा कर्मचारीहरु, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय तथा स्थानीयहरूलाई सञ्चालक कम्पनीले धन्यवादसमेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad