अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताएका छन्। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित अन्तक्रियामा उहाँले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव छैन भने।
मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका विषयमा कसैले पनि चिन्ता लिनुपर्ने आवश्यकता छैन भने। उनले शंकास्पद कारोवार गर्नेले मात्र सम्पति शुद्धीकरणबाट तर्सिनु पर्ने भन्दै राजश्व छल्ने र विदेशी मुद्रा अपचलन गर्ने काम गर्नु हुँदैन भने। मन्त्री खतिवडाले उद्योगी र व्यापारीको धेरै समस्या राजश्व बोर्ड गठनपछि समाधान हुने चर्चा गर्दै निर्यात बढाउने उद्योगका लागि विद्युत्मा छुट दिने सरकारको तयारी छ भने। उनले आन्तरिक सुरक्षा प्रदान गर्ने वस्तुमा भन्सारमा छुट दिने भन्दै ठूलो लगानीका उद्योगमा पनि सरकारले सहुलियत दिने जानकारी दिए।
सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, उद्योगी एवं व्यापारी शिवशंकर अग्रवाल, पवन सारडा, ताराचन्द खेतान, अशोक मुरारका, चम्पा नेपाल, सोमप्रसाद भट्टराई, सुजन थापा, श्रुति शर्मालगायतले उद्योग र व्यापार क्षेत्रका समस्याबारे अवगत गराएका थिए। रासस

प्रतिक्रिया