नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ।
प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना गरेको प्रदर्शनीको अवधि असार ३० गतेसम्म थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए।
प्रदर्शनीमा दैनिक सयौँ पाठक आउने गरेका छन्। दैनिक कम्तीमा पनि रु २० हजारको पुस्तक बिक्री हुने गरेको छ। प्रतिष्ठानका पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ। प्रतिष्ठानको प्रकाशनमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको उनले सुनाए।
प्रज्ञा प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको छ। साझा प्रकाशनका पुस्तकमा भने २५ देखि ३० प्रतिशतसम्म छुट दिइएको छ। पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उनले बताए। प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ। पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ। रासस
Shares
प्रतिक्रिया