नेपालमा हुने हरेक सवारी दुर्घटनामा धेरैले ड्राइभरतिरै औँलो सोझ्याइहाल्छन्। तर सडक र गाडीको अवस्था कस्तो छ भन्नेतिर कसैले ध्यान दिँदैनन्।
सवारीसाधन व्यवसायीलाई पैसा कमाउनतिर र सरकारलाई कर उठाउनतिर मात्रै ध्यान हुँदा देशमा सडक दुर्घटनामा कमी आउनसकेको छैन।
करिब दश वर्षअघि नेपालमा दुर्घटना न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायातको वैज्ञानिक तरिकाबाट चेकजाँच गर्ने भनी ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ स्थापना भयो। अटो व्यवसायीहरुकै मागअनुसार सवारीसाधनको अवस्था परीक्षण गर्न सेन्टर स्थापना भए पनि त्यसलाई राम्ररी सञ्चालनमा ल्याउन न सरकार अग्रसर भयो, न त व्यवसायीले नै चासो दिए।
नाडामा समेत बसेर काम गरिसकेका वर्कशपसम्बन्धी मेसिनरी आयात गर्ने व्यवसायी प्रदिपमान प्रधानका अनुसार नेपालमा अत्याधुनिक प्रविधियुक्त सवारीजाँच मेसिन आवश्यक भएको भन्दै बारम्बार यातायात व्यवस्था विभागमा धाउँथे। प्रधानसँगै नाडा, यातायात व्यवसायी महासंघ, यातायात व्यवस्था विभागले फिटनेस सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो।
प्रदिपमान प्रधानको सोच थियो– नेपालमा एउटा राम्रो सवारीजाँच गर्ने प्रविधि भित्र्याउने। त्यसको लागि उनले धेरै ठाउँमा बुझे। जर्मनीको प्रविधि नेपाल ल्याउनसके उपयुक्त हुने उनलाई विश्वास लाग्यो। उनी भन्छन्, ‘हामीले ल्याउन सोचेको मेसिनमा सवारीधनी र इन्जिनियरको भूमिका खासै नहुने। सबै कुरा मेसिनले नै परीक्षण गरेर रिपोर्ट कम्प्युटरमा देखाउने थियो।’
सवारी जाँचमा चलखेल हुन नदिन सबै परीक्षण मेसिनले गर्ने र रिपोर्ट कम्प्युटरले दिने ल्याउनुपर्छ भन्ने योजना प्रधानले विभागमा समेत सुनाएका थिए।
तर यातायात व्यवस्था विभागले ‘मेसिन’को लागि टेन्डर गर्दा सिभिल र मेकानिक इन्जिनियरिङमा अनुभव भएकोले मात्रै प्रस्ताव पेस गर्न पाउने बनायो। प्रधानको योजना टेन्डरको प्रस्तावले नै तुहियो। उनी वर्कशपसम्बन्धी मेसिन आयात गरी बिक्री गर्थे तर सिभिल वा मेकानिकल इन्जिनियरिङको विषयमा अनुभव थिएन। उनले टेन्डर हाल्न पाएनन्। विभागले मेसिन खरिदको लागि उनले सोचेको बजेट पनि छुट्याएन।
सार्वजनिक खरिद नियमावलीअनुसार टेन्डर हाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले पायो। उनले चीनबाट करिब आठ वर्षअघि मेसिन ल्याए। यातायात व्यवस्था विभागअन्तर्गतको सवारी परीक्षण कार्यालय टेकुमा मेसिन जडान भयो। तर उनले जडान गरेको करिब पाँच वर्षसम्म विभागले दक्ष जनशक्ति नभएको भन्दै सेन्टरलाई सञ्चालनमा ल्याउन सकेन।
दक्ष जनशक्ति तयार भएपछि विभागले फिटनेस सेन्टर सञ्चालनमा ल्याउन खोज्दा मेसिन नै चलेन। विभागले महादेव खिम्ती निर्माण सेवाले चिनियाँ ‘गुणस्तरहीन’ मेसिन ल्याएकोले चलाउन नसकेको बताउँदै आएको छ।
सवारी परीक्षण कार्यालय टेकुका प्रमुख रामचन्द्र पौडेल महादेव खिम्ती निर्माण सेवाले कम गुणस्तरको मेसिन ल्याएकोले कार्यालयले मेसिन सञ्चालनमा ल्याउन नसकेको बताउँछन्। उनी भन्छन्, ‘त्यसको मर्मतको लागि उहाँले ल्याएको ठाउँबाट प्राविधिक र सामग्री ल्याउन खोजेका थियौँ तर चीनमा कम्पनी हाम्रो सम्पर्कमै आएन। बन्द भइसकेको भन्ने जानकारी आयो।’
विभागको मापदण्डअनुसार हरेक ६ महिनामा सार्वजनिक यातायातका साधनको जाँचपड्ताल गर्नुपर्छ। जाँच त हुन्छ तर मेसिनले हुँदैन। इन्जिनियरहरुले हेरेजस्तो मात्रै गर्छन्।
तर महादेव खिम्ती निर्माण सेवाका सञ्चालक रवि सिंहले आफूले मेसिन ल्याएर जडान गर्दा चलेको दाबी गर्छन्।
‘विभागले जस्तो स्पेसिफिकेसनमा टेन्डर निकालेको थियो। त्यसैअनुसार हामीले सामग्री आयात गरी विभागमा जडान गरेका हौं’, उनले नेपालखबरसँग भने, ‘उहाँहरुसँग प्रविधिक नभएको कारण त्यसलाई प्रयोग नगरी राख्नुभयो। जसले गर्दा धूलो धूवाँ लगायतको कारणले नचलेको होला। हामीले ८ वर्षअघि नै मेसिन हस्तान्तण गरेका हौं।’
मेसिन नचल्नुमा आफ्नो दोष नभएको सिंहको दाबी छ। ‘प्रविधि नयाँ–नयाँ आउँदै गर्छ। पुरानो विस्थापित हुँदै गर्छ। पुरानो मोडलको सामग्री त पाइँदैन नि! उहाँहरुले चलाएर अपग्रेड गर्दै जानुपर्ने थियो, त्यसलाई त्यत्तिकै फालियो, त्यसैले चलेन होला।’
सवारी जाँच कहाँ गर्ने ‘आरन’मा?
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले इन्जिनियरहरुले अन्दाजको भरमा चेक गर्ने गरेको बताए। ‘डाक्टरले बिरामीको मुख हेरेर यो रोग लागेको होला भनेजस्तै हो नेपालमा सवारी चेक जाँच। वैज्ञानिक ढङ्गले कहीँ कतै चेक हुँदैन।’
उनले अटो व्यवसायीसँग चर्को कर उठाउने तर चेकजाँचको लागि एउटा मेसिन पनि राख्न नसक्ने भन्दै आक्रोश पोखे।
‘सरकारले पूर्वाधार बनाउँदैन अनि व्यवसायीलाई यो भएन, त्यो भएन भन्छ। दुर्घटना कम गर, राम्ररी चलाऊ भन्छ। जाँचपास कहाँ गर्ने आरनमा लगेर गर्ने?’, उनले प्रश्न गरे ।
सवारी परीक्षण कार्यालय टेकुका प्रमुख पौडेल भने मेसिनले सबै कुरा परीक्षण नगर्ने बताउँछन्। ‘मेसिनले ह्विल लोड–टेस्टर, ब्रेक–टेस्टर, हेडलाइट–टेस्टर, सस्पेन्सन–टेस्टर, हर्न–टेस्टरलगायत छ प्रकारका मात्रै परीक्षण गर्छ। अरु सबै इन्जिनियरले निरीक्षण गर्छ।’
उनले आँखाले निरीक्षण गरेरै धेरै कुरा पत्ता लगाउन सकिने दाबी गरे। उनले भने, ‘केहीले आँखाले निरीक्षण गरेर हुँदैन भनेका छन्। गाडीमा खिया लागेको छ कि छैन, ढोका राम्ररी लाग्छ कि लाग्दैन, सिसाको अवस्था कस्तो छ भन्ने निरीक्षणबाटै थाहा हुन्छ। यहाँ जडान र सञ्चालनमा आए पनि सबै रिपोर्ट कम्प्युटरमा देखिँदैन। इन्जिनियरले नै निरीक्षण गर्नुपर्छ।’
पौडेलले कार्यालयमा मेसिन सञ्चालनको लागि चीनका प्राविधिक र आवश्यक सामग्री खोजिरहेको बताए। विभागले उक्त मेसिन ६ करोडमा खरिद गरेको हो। हाल टेकु कार्यालयमा दैनिक ५० देखि ६० गाडी जाँच इन्जिनियरहरुले अनुमानको भरमा गरिरहेका छन्।
यात्रु सुरक्षा बेवास्ता गर्दै व्यवसायी, रूट अनुमतिमा झुक्याएर झापा पुग्छन् माइक्रोबस
Shares

प्रतिक्रिया