ad ad

कारोबार


अर्थ मन्त्रालयको निष्कर्ष : ईभी आयात र बाइक एसेम्बल गर्दा सरकार र उपभोक्ता दुवैलाई घाटा

अर्थ मन्त्रालयको निष्कर्ष : ईभी आयात र बाइक एसेम्बल गर्दा सरकार र उपभोक्ता दुवैलाई घाटा

दीपक भट्ट
जेठ ११, २०८० बिहिबार १२:४९, काठमाडौँ

विद्युतीय सवारीसाधन (ईभी) आयात र नेपालमा मोटरसाइकल एसेम्बल गरी बिक्रीवितरण गर्दा सरकार र उपभोक्तालाई समेत फाइदा नपुगेको निष्कर्ष अर्थमन्त्रालयले निकालेको छ। कर छुट दिँदा पनि सरकार तथा उपभोक्ता दुवैलाई फाइदा नपुगेको भन्दै मन्त्रालयले कर प्रणाली संशोधनको तयारी गरेको हो। 

अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेट निर्माण कार्य चलिरहेको छ। बजेटमा समावेश हुने ४ विधेयकमध्ये आर्थिक विधयेकको काम अहिले भइरहेको छ। करको दर हेरफेर यही विधेयकअन्तर्गत हुन्छ।

जेठ १५ गते सार्वजनिक गर्नुपर्ने बजेटको लागि सबैभन्दा अन्तिममा आर्थिक विधेयकको काम हुन्छ। अर्थ मन्त्रालयले बजेट निर्माणको लागि सहसचिव भुपाल बरालको नेतृत्वमा बजेट टिम बनाएको छ। बजेटको मस्यौदा समेत लगभग तयारी अवस्थामा पुगिसकेको छ।

तर, आर्थिक विधेयक तयार गर्दा बजेट (विनियोजन विधेयक) लेख्ने टिम सहभागी हुँदैन। यसमा अर्थसचिव, राजस्वसचिव, भन्सार र आन्तरिक राजस्वका विभाग महानिर्देशकको महत्वपूर्ण भूमिका रहन्छ। करको दर हेरफेर सम्बन्धमा अर्थ मन्त्रालयकै कर्मचारीलाई समेत छलफलमा बन्देज गरिन्छ। यसलाई अन्तिम रुप जेठ १४ गते मात्र दिइन्छ।

हेरफेर गर्नुपर्ने र यो भन्दा पहिलाको नीतिको प्रभावको बारेमा भने अहिले छलफल भैरहेको छ। उक्त छलफलमा सबैभन्दा महत्वपूर्ण विषय अटो क्षेत्रको करमा देखिएको छ। 

यसअघि कर छुट पाएर आयात भएका र नेपालमै डिकेडी ( पार्टपुर्जा) ल्याएर एसेम्बल गरी उत्पादन भएकाहरुबाट सरकार र उपभोक्ता दुवैलाई फाइदा नभएको विषय सो छलफलमा उठेको छ। छलफलमा सहभागीहरु सबैले यसबाट फाइदाभन्दा घाटा बढी भएको निष्कर्ष निकालेका हुन्।

‘कर छुट दिएपछि सरकारलाई घाटा हुन्छ नै। तर त्यसको फाइदा उपभोक्तालाई हुनुपर्यो। त्यो समेत भएको छैन,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उपभोक्तालाई पनि मूल्य कम नहुने, बढी नै पर्ने। सरकारतर्फको राजस्व गिरावट पनि गराएको छ। अब छुट कति समयसम्म दिन सकिन्छ भन्ने विषयमा छलफल भएको छ। तर यसमा निर्णय भने भएको छैन।’

विद्युतीय गाडीमा अहिले क्षमता अर्थात् पिक पावरको आधारमा कर लगाइएको छ। जुन पेट्रोलियम पदार्थबाट चल्नेमा भन्दा न्यून छ। 

अन्तशुल्क १ सय किलोवाट भन्दामाथिका विद्युतीय गाडीमा मात्रै लगाइएको छ। १ सयदेखि २ सय किलोवाटसम्मका लागि ३० प्रतिशत अन्तशुल्क, २ सयदेखि ३ सयसम्मलाई ४५ प्रतिशत र ३ सय किलोवाटभन्दा माथिकालाई ६० प्रतिशत अन्तशुल्क लगाइएको छ। 

अनएसेम्बल्ड विद्युतीय गाडी आयात भएको खण्डमा २ सय किलोवाटसम्म छुट छ। सोभन्दा माथिको हकमा अरुसरह अन्तशुल्क लाग्छ। यो अन्तशुल्क पनि चालू आर्थिक वर्षको बजेटमा लगाइएको हो। 

त्यस्तै, भन्सार शुल्कको चाहिँ १ सय किलोवाटसम्मको लागि १० प्रतिशत  १ सयदेखि २ सयसम्मको लागि ३० प्रतिशत,  २ सय देखि ३ सयसम्मको लागि ४५ प्रतिशत र ३ सय किलोवाटभन्दा माथिको लागि ६० प्रतिशत लाग्छ। 

तर पेट्रोलियम प्रदार्थबाट चल्ने गाडीमा भन्सार शुल्क र अन्तशुल्क गरेर अधिकतम २ सय २५ प्रतिशत कर लाग्छ।

त्यस्तै, नेपालमा एसेम्बल गरिने मोटरसाइकलमा पनि छुट दिइएको छ। कुल करमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। तर त्यो छुटले उपभोक्तालाई कुनै फाइदा नभएको अधिकारीहरुको भनाइ छ। 

विशेषगरी नेपालमा पार्टपुर्जा ल्याएर टीभीएस र बजाजका मोटारसाइकलहरु एसेम्बल गरिन्छन्। यी दुई कम्पनीको उत्पादन धेरै छ। तर कर छुट उपभोक्तासम्म नपुगेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

त्यस्तै, इलेक्ट्रिक गाडीको मूल्य समेत पेट्रोलियमको तुलनामा धेरै हुने भएकोले उपभोक्तालाई फाइदा नभएको उल्लेख छ। 

यी दुईमा प्रदान गरिँदै आएको छुटको समीक्षा गर्नुपर्ने पक्षमा मन्त्रालयका अधिकारीहरु छन्। तर, यसबारे निर्णय नभएको उनीहरुले बताए।

यता अटो व्यवसायीहरुको छाता संस्था नाडाले प्रेस विज्ञप्ति नै जारी गरी अनएसेम्बल्ड सवारीका कर बढाउन नहुने बताएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयंमा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो। नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिकहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ। एसेम्बली उद्योगहरुले औद्योगिकीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुर्‍याइ रहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .