चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्ममा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको छ। गत असारको तुलनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको हो।
२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४३३ अर्ब ७३ करोड पुगेको छ।
यस्तै, २०७९ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई रु.१२७३ अर्ब ९९ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १५९ अर्ब ७४ करोड पुगेको छ।
२०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
Shares

प्रतिक्रिया