ad ad

कारोबार


नेपालमा पाइलट पढ्ने स्कुल, विदेशी विद्यार्थी भित्र्याउने योजना

नेपालमा पाइलट पढ्ने स्कुल, विदेशी विद्यार्थी भित्र्याउने योजना

वसन्त अर्याल
बैशाख ९, २०८० शनिबार १०:६, काठमाडौँ

फ्लाइङ स्कुल खोल्ने अनुमति पाएका संस्थाले विदेशी विद्यार्थी भित्र्याउने योजना ल्याएका छन्। 

नेपाली विद्यार्थीलाई बाहिर जान रोक्ने र विदेशी विद्यार्थी भित्र्याउने व्यावसायिक योजना बनाएका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि संशोधन गरी फ्लाइङ स्कुललाई अनुमति दिएको हो। यसअनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका छन्।

मन्त्रालयले प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गर्ने जनाएको छ। नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्स पूरा गरिरहेका छन्। 

एक दशकअघि नै बन्द भएको शिवानी एयरले चितवनमा ३–४ वर्ष फ्लाइङ स्कुल सञ्चालन गरेको थियो। सञ्चालक शिवेन्द्र कुमार बस्नेत, मणिन्द्रलाल रञ्जितकारको टिमले व्यवस्थान गर्न नसक्दा फ्लाइङ स्कुल बन्द भएको थियो। नयाँ खुल्ने कम्पनीले स्वदेशीसँगै विदेशी विद्यार्थी ल्याएर फ्लाइङ स्कुल सञ्चालन गर्न सकिने योजना बनाएका छन्। 

हालै फ्लाइङ स्कुलको अनुमति पाएको चन्द्र सूर्य एभिएसनका अध्यक्ष मनबहादुर थापाले नेपाली जति विद्यार्थी हुन्छन्, त्यसको ३० प्रतिशत विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य रहेको बताए। 

‘हामी एभिएसन स्कुल खोल्न ५ वर्षदेखि प्रयासरत छौँ। अनलाइनमा हाम्रोबारे अध्ययन गरेर विदेशी विद्यार्थी नेपाल आउन इच्छुक छन्’, अध्यक्ष थापाले नेपालखबरसँग भने, ‘स्कुलमा विद्यार्थीलाई सिकाउन इन्स्ट्रक्टर पाइलट नै अमेरिका र क्यानडाबाट आउँदै हुनुहुन्छ।’

उनका अनुसार यसो हुँदा नेपालबाट बाहिरिने डलर पनि रोकिनेछ भने विदेशी विद्यार्थी आउँदा डलर भित्रिनेछ। 

‘स्वदेशमै पाइलटसम्बन्धी अध्ययन गर्न नपाउने बाध्यता हट्छ’, थापाले थपे, ‘५ वर्षदेखिको प्रयास सफल भएको छ।’

भारत, भुटान र बंगलादेशका विद्यार्थी ल्याउन सकिने
नेपालको भूगोलका कारण पाइलट कोर्सका लागि विदेशी विद्यार्थी आकर्षण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।

नेपालको भूगोलअनुसार समथर, पहाड र हिमाली तीनवटै क्षेत्रमा विमानस्थल छन्। यहाँ पाइलट अध्ययन गर्ने आउनेले सुगम र दुर्गम दुवै विमानस्थलमा उडानको अनुभव लिन पाउँछन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी विदेशी विद्यार्थी ल्याउनसके सहजै टिक्न सकिने बताउँछन्। 

‘शिवानीले पनि केही वर्ष पाइलट स्कुल सञ्चालन गरेको थियो’, मन्त्रालयका एक अधिकारीले भने, ‘विदेशी विद्यार्थी ल्याउनसके पाइलट स्कुल सहजै चल्न सक्छन्।’

भारत र बंगलादेशका विद्यार्थी नेपाल आउने सम्भावना रहेको उनले बताए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले नेपालको हावापानी राम्रो भएकाले विदेशी विद्यार्थी अध्ययन गर्न आउने राम्रो सम्भावना रहेको बताए।

‘नेपालको भूगोलमा उडान र अध्ययनको लागि हावापानी राम्रो छ’, प्रवक्ता समेत रहेका निरौलाले भने, ‘नेपालबाट बाहिर जाने विद्यार्थी रोकिन्छन्। विदेशी पनि आउन सक्छन्।’

फ्लाइङ स्कुललाई विदेशी उड्डयन नियामकले अनुमति दिनुपर्ने 
नेपालमा विदेशी विद्यार्थी ल्याउन फ्लाइङ स्कुललाई विदेशीले समेत अनुमति दिनुपर्छ। नेपालबाट विदेशमा पाइलट अध्ययन गर्न जाने विद्यार्थीको लागि पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिनुपर्छ। 

प्राधिकरणका प्रवक्ता निरौलाले नेपालले तोकेका कलेजमा मात्रै यहाँबाट जाने विद्यार्थीले अध्ययन गर्न पाउने बताए। 

‘हामीले पाइलट अध्ययनको लागि विदेशी कलेजलाई लिस्टिङ गरेका छौँ। नेपाली विद्यार्थी ती कलेजमा अध्ययन गर्न पाउँछन्’, उनले भने, ‘विदेशी विद्यार्थी नेपाल आउँदा सम्बन्धित देशको अनुमति लिएर आउनुपर्छ।’ 

नेपालले ३८ वटा विदेशी स्कुलमा पाइलट तालिमको लागि अनुमति दिएको छ। जसमा क्यानडा, अमेरिका, साउथ अफ्रिका, फिलिपिन्स, थाइल्यान्डलगायत छन्। 

चन्द्र सूर्य एभिएसनले विदेशमा अनुमति पाउन अप्ठ्यारो नहुने बताएको छ। 

‘नेपालीहरु विदेशमा अध्ययन गर्न जाँदा अनुमति लिएरै जानुपर्छ। त्यसैगरी विदेशी पनि नेपाल आउँदा अनुमति लिएरै आउनुपर्छ’,  थापाले भने, ‘पाइलट ट्रेनिङको मापदण्ड अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको बनाउनुपर्छ। अहिले मापदण्ड बनिसकेको छैन। त्यसो हुँदा विदेशीले अनुमति पाउँछन्।’

नेपालबाट वार्षिक ४–५ सय विद्यार्थी फ्लाइङसम्बन्धी कोर्स पढ्न विदेश जाने गरेका छन्। 

विदेशमै जानुपरे पनि नेपालमा अध्ययन गरी दक्ष कामदारकै रुपमा अघि जान सक्छन्। नेपाली विदेशमा महिनाको १५–१६ लाख कमाउन सक्ने गरी विदेश जाऊन् भन्ने उद्देश्य रहेको उनले बताए। 

चन्द्र सूर्यले सिमरा–मेघौली, भैरहवा र दाङमा विद्यार्थीलाई सिकाउन विमानस्थल माग गरेको छ। 

‘विदेशी विद्यार्थी पनि आउने हुनाले दुर्गम ठाउँमा बस्न अप्ठ्यारो मान्छन्’, उनले भने, ‘सुगम विमानस्थलमा फ्लाइङ स्कुल खोल्न सक्दा राख्न सहज हुन्छ।’

कति लगानीमा खुल्दै छन् फ्लाइङ स्कुल?
चन्द्र सूर्यले डाइमन्ड एयरक्राफ्टका ३ वटा जहाज ल्याउँदै छ। डाइमन्डले अष्ट्रेलियमा जहाज उत्पादन गर्छ भने अमेरिकामा यसको सेल्स अफिस छ। 

नेपाल ल्याइने ३ वटा जहाजमा २ वटा सिंगल इन्जिन भएका र एउटा २ वटा इन्जिन भएको जहाज हुने थापाले बताए। 

काठमाडौं डिल्लीबजारका दिवाकरमान सिंह बस्नेत क्यानडामा ठूला जहाज उडाउँछन्। उनी चन्द्र सूर्य एभिएसनका सेयर होल्डर समेत हुन्।

स्कुलकै लागि अमेरिकाबाट प्रमोद रेग्मी आउँदै छन्। त्यसबाहेक इन्जिनियरिङ कोर्ष अध्ययन गराउने पनि अमेरिकाबाटै आउने उनले बताए।  

पाइलटलाई उडान अनुभव गराउन क्यानडाबाट फ्लाइट सिमुलेटर समेत ल्याउन लागेको थापाको भनाइ छ। जहाज खरिदसहित विद्यालयका पूर्वाधार बनाउन करिब ६० देखि ७० करोड लगानी गर्दा सञ्चालन गर्न सकिने उनले बताए। 

शुभम् एभिएसनको नाममा दर्ता भए पनि गिता एभिएसनबाट स्कुल सञ्चालन गर्ने जनाएको छ। गिता एभिएसनले ५ वटा जहाज ल्याउने बताएको छ। उसले सिंगल र डबल इन्जिनकै जहाज युरोपबाट ल्याउने जनाएको छ। गिता एभिएसनले सुरुमा करिब ५० करोड लगानी गर्ने बताएको छ। 

फ्लाइङ स्कुलमा सुरुमा उडानबारे सामान्य विषय पढाइन्छ। पछि एयरलाइन्सअनुसार तालिम दिइन्छ। 

फ्लाइङ स्कुलको मुख्य चुनौतीको रुपमा जहाज खरिद र सञ्चालन, इन्स्ट्रक्टर पाइलट, प्राविधिक राखिरहनु रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .