मुलुककै प्रमुख पर्यटकीय गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढ्दै गएको छ।
सन् २०१९ मा साढे १५ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। लुम्बिनी विकास कोषको तथ्यांअनुसार नेपाली, भारतीय र तेस्रो मुलुकका गरी १५ लाख ५८ हजार ३२६ पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन्।
यो अघिल्लो वर्ष सन् २०१८ भन्दा १ दशमलब ५८ प्रतिशत अर्थात् २४ हजार २१६ जनाले बढी हो।

सन् २०१९ मा नेपाली, भारतीय र तेस्रो मुलुकका गरी १५ लाख ३४ हजार ११० पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए। कोषका सूचना अधिकृत राजन बस्नेतकाअनुसार २०१९ मा नेपाली ११ लाख ७८ हजार १४०, भारतीय २ लाख ६ हजार १७१ र तेस्रो मुलुकका १ लाख ७४ हजार १५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।
२०१८ मा नेपाली ११ लाख ७० हजार ५७१, भारतीय १ लाख ९३ हजार ६३५ र तेस्रो मुलुकका १ लाख ६९ हजार ९०४ जना पर्यटक लुम्बिनी पुगेका थिए।
२०१९ मा तेस्रो मुलुकमा सबैभन्दा बढी श्रीलंकन पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। गत वर्ष श्रीलंकाका ४७ हजार ५०७ जनाले लुम्बिनी भ्रमण गरेका छन्। यस्तै, म्यान्मारका ३० हजार ७९१, थाइल्याण्डका २८ हजार ३६४, चीनका २१ हजार २६९ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

यसैगरी भियतनामका ८ हजार ३४५, दक्षिण कोरियाका ६ हजार १४५, जर्मनीका ३ हजार ३०६, जापानका २ हजार ५६, अमेरिकाका २ हजार ४७ र फ्रान्सका २ हजार १७ पर्यटक लुम्बिनी आएका छन्। यो वर्ष १ सय बढी मुलुकका पर्यटक लुम्बिनी आएका छन्।
लुम्बिनीबाटै फर्किन्छन् पर्यटक
यहाँ आउने अधिकांश पर्यटक लुम्बिनीबाटै फर्किन्छन् । केही भने पोखरा, चितवन, मनाङ, मुस्ताङ र काठमाडौंसम्म पुग्ने गरेका छन् । कतिपय लुम्बिनी र पोखरा घुमेर स्वदेश फिर्ता हुने गर्छन् । पर्यटक आगममा बृद्धि भए पनि लुम्बिनी क्षेत्रका व्यवसायीले भने खासै फाइदा लिन सकेका छैनन्।
पर्यटकहरु लुम्बिनी भ्रमण पश्चात् उसैदिन बाहिरी जिल्लामा बास बस्न जाने भएकाले पनि व्यवसायीले खासै फाइदा लिन नसकेका हुन् । लुम्बिनी आएका मध्ये न्यून पर्यटक यहाँ रात बिताउँछन्।

‘लुम्बिनी बाहेक पर्यटक भुलाउने अन्य ठाउँमा पुर्याउन नसक्दा पनि बसाइँ बढाउन सकिएको छैन’, सिद्धार्थ होटल संघका महासचिव रवीन्द्र शर्मा घिमिरेले भने।
व्यवसायीले लुम्बिनीसँगै तिलौराकोट, गोटिहवा, निग्लिहवा, देवदह, राम्रग्रामसँगै अन्य पर्यटकीयस्थलको पहिचान गरी पर्यटकलाई त्यहाँ पुर्याउने व्यवस्था गर्न माग गर्दै आएका छन्।
उनीहरुले यी ठाउँ जोड्न सरकारले योजना बनाए आफूहरुले सहयोग गर्ने बताउँदै आएका छन्।
‘हामीले पर्यटकलाई लुम्बिनीमा खाली एकदिन घुमाएर मात्रै हुँदैन, उनीहरुलाई जिल्लामा रहेका अन्य पर्यटकीय ठाउँमा लैजान विशेष योजना बनाउन जरुरी छ’, उनले भने, ‘एकीकृत प्याकेज गराई आध्यात्मिक शिक्षाको व्यवस्था गर्न व्यवसायी र सरकार एकजुट हुन जरुरी छ।’

प्रतिक्रिया