सोमबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहालकै जिम्मामा रहेको अर्थ मन्त्रालयले चाँडै नेतृत्व (मन्त्री) पाउँदै छ।
नयाँ अर्थमन्त्रीमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको चर्चासँगै सोमबार सेयरबजार हरियो भयो। यसअघि पनि अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेलले मन्त्रालय सम्हालेकै दिन सेयरबजारमा उत्साह छाएको थियो।
यसले नै देखाउँछ– सेयरबजारले राजनीतिक घटनाक्रमलाई ‘रियाक्ट’ गर्छ। सोमबार यस्तै देखियो।
बजार कारोबार सुरु नहुँदै अर्थमन्त्रीमा महतको चर्चाले नेप्से १७.७० अंकले बढ्यो। आइतबार १८ सय विन्दुमा झरेको बजार परिसूचक नेप्से यो खबरसँगै बढेर १९०६ विन्दुमा पुग्यो।
वर्तमान सत्ता गठबन्धनबाट अर्थमन्त्रीमा नेपाली कांग्रेसका प्रवक्ता डा. महतको नाम अघि सारिएपछि बढेको सेयरबजारले लगानीकर्ता आशावादी बनेको संकेत दिएको जानकार बताउँछन्।
त्यसो त नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयरबजार सेन्टिमेन्टमा चल्ने भएकाले कुन पार्टी सरकारमा आउँछ र अर्थमन्त्री को बन्छ भन्ने कुराले प्रभाव पर्ने बताउँछिन्।
यसअघि पनि केही अर्थमन्त्री आउँदा बजारमा उत्साह हुने र केही आउँदा नकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
‘विष्णु पौडेल अर्थमन्त्री बन्दा लगानीकर्तामा उत्साह देखिने र बजार बढ्ने गरेको थियो’, उनले नेपालखबरसँग भनिन्, ‘उहाँको कार्यकालमा उहाँले बजारको लागि बनाएका नीति नै लगानीकर्ताको पक्ष र बजार सुधारको लागि देखिन्छ।’
अर्थमन्त्रीमा जनार्दन शर्मा हुँदा र उनले दिएका सार्वजनिक अभिव्यक्तिले समेत सेयरबजारलाई प्रभावित बनाएको उनले बताइन्।
‘जनार्दन शर्मा अर्थमन्त्री हुँदा उहाँले बजार बेलुन जसरी फुलेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो’, उनले भनिन्, ‘पुष्पकमल दाहाल प्रचण्डले एकपटक सेयरबजार पुँजीपतिको लागि हो भन्दा बजार एकैदिन १०० अंकले झरेको थियो। यस्ता कुराले बजार प्रभाव पार्छ।’
माओवादीकै नेता वर्षमान पुन अर्थमन्त्री हुँदा पनि बजारमा सकारात्मक प्रभाव परेको थियो।
इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि अर्थमन्त्री बन्ने कुराले बजार प्रभावित हुने गरेको बताउँछन्। बजार बुझेको वा बजारको हित चाहने अर्थमन्त्री आउँदा सकारात्मक प्रभाव पर्ने गरेको उनको भनाइ छ।
‘विष्णु पौडेल आउँदा बजारमा सकारात्मक प्रभाव परेको थियो’, पोखरेलकै भनाइ दोहो¥याउँदै उनले थपे, ‘अहिले बजारको लागि राम्रो नीति ल्याउनेजस्तो व्यक्ति आउँदै छ भन्ने भएपछि त्यसको प्रभाव त पर्ने नै भयो।’
दीर्घकालीन रुपमा भने बजार नीतिअनुसार फरक पर्ने रौनीयारको भनाइ छ।
‘बजारको राम्रो पोलिसी आयो। बजारमैत्री कुराले मात्र सेयरबजार बढ्छ’, उनले भने, ‘अर्थमन्त्री मात्र आएर बढेको बजार क्षणिक हुन्छ।’
दीर्घकालीन रुपमा बजार राम्रो हुन अर्थमन्त्रीले लिने नीतिमा भर पर्ने उनको भनाइ छ।
सामान्य ट्रेण्ड के देखिन्छ भने अर्थतन्त्रबारे जानकार नेता अर्थमन्त्री आउँदा बजार बढ्ने गरेको छ।
हुन पनि गत पुस ११ गते अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा सुरु भएसँगै सेयरबजार उच्च अंकले बढेको थियो। बजार ५६.८८ अंकले बढेको १९२४ विन्दुमा पुगेको थियो।
सोही दिन बेलुका पौडेलले शपथ समेत लिएका थिए।
उनी भित्रिएसँगै निरन्तर बढ्दै गएको बजार पुस २५ गते २२११.७६ विन्दुमा पुग्यो। साथै, कारोबार समेत औसत साढे २ अर्ब भइरहेको थियो।
एमाले सरकारबाट बाहिरिने चर्चाले पुनः विस्तारै कारोबारसँगै परिसूचक घट्दै जान थालेको थियो।
फागुन १५ गते पौडेलसहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि बजार २०२३.५४ विन्दुमा थियो।
त्यसयता बजार पुनः निरन्तर घट्दै १८८८.३० विन्दु झर्यो। सोमबार कांग्रेसको अर्थमन्त्रीको चर्चाले बजार १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ।
प्रतिक्रिया