ad ad

राजनीति


अर्थमा प्रकाशशरण महत : धुम्बाराहीको प्रस्तावमा बालुवाटार सहमत

अर्थमा प्रकाशशरण महत : धुम्बाराहीको प्रस्तावमा बालुवाटार सहमत

फाइल तस्बिर


केशव सावद
चैत १३, २०७९ सोमबार १४:७, काठमाडौँ

मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला अर्थमन्त्रालयको बागडोर डा. प्रकाशशरण महतको हातमा जाने भएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ अर्थमन्त्रीका रुपमा कांग्रेस प्रवक्ता डा. महतको नाममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सहमति जुटाइसकेका छन्। 

फागुन १५ गते एमालेले सरकार छाडेयता अर्थ मन्त्रालय प्रधानमन्त्री प्रचण्डमातहत छ। गत फागुन १५ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेल बिदा भएका थिए।

एमालेले सरकार छाडेयता प्रधानमन्त्री प्रचण्डमातहत अहिले १६ मन्त्रालय छन्। तीमध्ये एक मन्त्रालय नेकपा माओवादी केन्द्रले लिएर १५ वटा साझेदार दलहरुलाई बाँड्ने तयारी प्रचण्डको छ।

प्रचण्डले रिक्त मन्त्रालयमध्ये महत्वपूर्ण मानिने अर्थ संसद्को ठूलो दल कांग्रेसलाई दिने मनस्थिति बनाइसकेका छन्। सभापति देउवाले उक्त मन्त्रालयमा प्रवक्ता महतलाई पठाउने मनस्थिति बनाएका छन्।

उनले अर्थमा महतलाई पठाउनेबारे पार्टीका नेताहरुलाई पनि बताइसकेका छन्। चैत १० गते मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गएका नेता डा. शेखर कोइरालासँग आफूले अर्थमा महतलाई पठाउने तयारी गरेको बताएका थिए। 

‘मन्त्रीबारे छलफल गर्न हामी धुम्बाराही गएका थियौँ। सभापतिज्यूले अर्थमा प्रकाशशरणलाई वचन दिइसकेको छु। त्योबाहेक मन्त्रालयमा छलफल गरौँ भन्नुभयो,’ कोइरालासँगै गएका एक नेताले नेपालखबरसँग भने। 

देउवाले महतलाई अर्थको जिम्मेवारी दिएर सरकारमा पठाउने तयारी गरेको बालुवाटार स्रोतले पनि पुष्टि गरेको छ। ‘अर्थमन्त्रीमा प्रकाशशरणको नाम बालुवाटार आइपुगेको छ,’ बालुवाटार स्रोतले भनेको छ।

उता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि उपप्रधान तथा अर्थमन्त्रीका रुपमा पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने आकांक्षा राखेको उनीनिकट नेताहरु बताउँछन्। तर, खड्काले यसबारे मुख खोलेका छैनन्। 

बालुवाटार स्रोत खड्का उपप्रधान तथा रक्षामन्त्रीका रुपमा कांग्रेसको नेतृत्व गरेर सरकारमा सहभागी हुने बताउँछ। कांग्रेसले ७ मन्त्रालय र एक राज्यमन्त्री पाउने अन्तिम समझदारी प्रचण्ड र देउवाबीच बनेको छ। कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने निश्चित भएको बालुवाटार स्रोतले जनाएको छ।

अर्थमन्त्रीका हुन नदिन उपसभापति खड्का र प्रवक्ता महत एकअर्कालाई रोक्ने प्रयासमा रहेका कांग्रेसकै नेताहरुबीच चर्चा छ। तर, अर्थमा सभापति देउवाको प्राथमिकतामा दोस्रो वरीयताका खड्काभन्दा प्रवक्ता महत छन्। 

महत नै किन परे सभापति देउवाको प्राथमिकतामा? कांग्रेस संस्थापन पक्षीय एक नेता जवाफमा भन्छन्, ‘अहिले अर्थतन्त्रको अवस्था डामाडोल छ। यसलाई सुधार्न सक्ने मान्छे चाहिएको छ। अर्थमा अहिले अर्थशास्त्र पढेको–बुझेको मान्छे पठाउनु पर्यो। नबुझेको मान्छे पठाउँदा अर्थतन्त्र सुध्रिएन भने पार्टीको छवि धुमिल हुने डरले हुन सक्छ।’ 

संकटग्रस्त अर्थतन्त्र सुधार्न अर्थशास्त्र पढेकै व्यक्ति अर्थमा पठाउँदा सहज हुने देउवाको बुझाइ छ। त्यहीकारण उनले प्रवक्ता महतलाई प्राथमिकता दिएको उनको भनाइ छ। 

परराष्ट्र सम्बन्ध राम्रो भएका नेताका रुपमा चिनिने महतलाई अर्थमन्त्री बनाउँदा वैदेशिक अनुदान र सहयोग ल्याउन सजिलो हुने आँकलन धुम्बाराहीले गरेको ती नेता बताउँछन्। 

‘अर्थतन्त्र सुधार्नुपर्ने च्यालेन्ज छ। यस्तो बेला वैदेशिक अनुदान र सहयोग ल्याउन परराष्ट्र सम्बन्ध राम्रो भएको मान्छे चाहियो,’ उनी भन्छन्, ‘कांग्रेसमा अहिले त्यस्तो सम्बन्ध भएका नेता डाक्टर सा’व नै हो। उहाँलाई दातृ निकायले विश्वास गर्ने विश्लेषण भयो।’

प्रवक्ता महतले २०७३ मा परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन्। उनले परराष्ट्र सम्हाल्ने बेला तराई–मधेश आन्दोलनका कारण भारतले नाकाबन्दी गर्दा दुई देशबीचकोे सम्बन्ध चिसिएको थियो। तत्कालीन समयमा पूर्ववर्ती सरकारको पालामा सुधार हुन नसकेको सम्बन्ध सौहार्द बनाउन उनले तीन पटक भारत भ्रमण गरेका थिए। 

महतको भ्रमणपछि बिग्रिएको सम्बन्ध सुधारिएको थियो। नाकाबन्दी खुलेर आपूर्ति व्यवस्था सुचारु हुनुका साथै भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आएकी थिइन्। 

उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए। महत परराष्ट्रमन्त्री हुँदा चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) लाई नेपालको हितअनुकूल हुने गरी कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो। 

महत २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्रीको जिम्मेवारीमा थिए। ऊर्जाक्षेत्रको जिम्मेवारी पाएको बेलामा उनले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो। 

महतकै कार्यकालमा नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको थियो। ढल्केबर–मुजफफ्पुर ४ सय केभी प्रशारण लाइन निर्माणले नेपालको लोडसेडिङ अन्त्यमा टेवा पुगेको थियो। देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्थ गर्दा महत पहिलो पटक परराष्ट्र राज्यमन्त्री भएका थिए।

माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका महतलाई तत्कालीन प्रधानमन्त्री देउवाले २००१ सेप्टेम्बरदेखि २००२ मेसम्म सल्लाहकार नियुक्त गरेका थिए। 

उनले २०५८ चैतदेखि २०५९ असोजसम्म (सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रि«य योजना आयोगको सदस्य पनि बनेका थिए।

२०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७ सम्म) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म (अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइएको थियो।

अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका महतले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन्। 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर महतले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गर्नुका साथै आर्थिक विकास, शान्ति प्रक्रिया, परराष्ट्रसम्बन्धी विभिन्न लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .