ad ad

कारोबार


किन सेयरबजारमा आउन चाहँदैनन् वास्तविक क्षेत्रका कम्पनी?

बोर्डले जानाजान ‘बुक बिल्डिङ’ ढिला गरेको हो? अध्यक्ष भन्छन्– जनशक्ति नपुगेर
किन सेयरबजारमा आउन चाहँदैनन् वास्तविक क्षेत्रका कम्पनी?

केशर बोगटी
माघ १६, २०७९ सोमबार १३:४९, काठमाडौँ

वास्तविक क्षेत्रका कम्पनीलाई पनि सेयरबजारमा ल्याउन नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको लामो समय भइसकेको छ। 

बैंक तथा वित्तीय क्षेत्रको बाहुल्य हुँदा बजार संरचना परिवर्तन गर्न यस्ता कम्पनीलाई सेयरबजारमा ल्याउन लागिएको बोर्डले जनाएको थियो।

तर उनीहरुलाई सोहीअनुसार आकर्षित गर्न भने उसले सकेन। परिणामतः सेयरबजारमा वास्तविक क्षेत्रका कम्पनीको उपस्थिति न्यून छ। 

यिनलाई सेयरबजारमा सूचीकृत गराएर बजार विविधीकरण गर्न बुक बिल्डिङले मद्दत पुर्याउने दाबी गरेको बोर्ड आफैँ पनि यसमा दोषी देखिएको छ। उसले बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्न अनुमति मागेका कम्पनीलाई समेत अनुमति दिएको छैन।  

जस्तो कि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स कम्पनीले बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्न बोर्डमा अघिल्लो आवमै आवेदन दिएका थिए। तर हालसम्म पनि दुवै कम्पनीले अनुमति पाएका छैनन्। 

धितोपत्र बोर्डकै पूर्वकार्यकारी निर्देशक निरज गिरी बुक बिल्डिङ विधि अघि बढाउन ढिलाइ भइरहेको बताउँछन्। 

उनले भने, ‘अहिले बोर्डले अनुमति दिन ढिलाइ गर्यो। यसो गर्नुहुँदैनथ्यो।’

बोर्डले लामो समय कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर जारी गर्न दिने/नदिने टुंगो लगाउन सकेको छैन। यसले अन्य इच्छुक कम्पनीहरु अन्योलमा परेको गिरीको भनाइ छ।  

‘केही कम्पनीहरु जस्तो कि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स सेयर निष्काशनको पर्खाइमा छन्’, उनले भने, ‘यी कम्पनीले निष्काशन गरेपछि बुक बिल्डिङमार्फत सेयर जारी गर्छौँ भनेर केही कम्पनी कुरिरहेका छन्।’

यी दुई कम्पनीलाई अनुमति दिए अन्य कम्पनी पनि सेयरबजारमा आउने गिरी बताउँछन्। केही राम्रा कम्पनीहरु धेरै पहिलेदेखि नै बुक बिल्डिङको प्रतीक्षामा रहेको उनको भनाइ छ।  

उनका अनुसार बुक बिल्डिङ विधिमार्फत रियल सेक्टरका कम्पनीलाई सेयरबजारमा ल्याउनुपर्छ भनेर नै यो विधि ल्याइएको हो। 

बुक बिल्डिङ विधि कार्यान्वयनमा आयो भने सेयर बजारप्रतिको सोचाइ परिवर्तन हुने उनको विश्वास छ।  त्यसैले बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्न ढिलाइ गर्न नहुने गिरी बताउँछन्। 

किन चाहियो बुक बिल्डिङ विधि? 
हालसम्म कम्पनीहरूले फिक्स्ड प्राइस (निश्चित) र प्रिमियम (थप मूल्य)मा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने गरेका छन्।

फिक्स्ड र प्रिमियमबाट वास्तविक क्षेत्रका कम्पनी सेयरबजारमा आउन अनिच्छुक देखिएपछि बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले बुक बिल्डिङ विधिमार्फत यस्ता कम्पनीलाई ल्याउने तयारीस्वरुप काम अघि बढाएका थिए। तर ल्याउने भनिए पनि भनेबमोजिम बोर्डले काम गर्न सकेन। 

पूर्वकार्यकारी निर्देशक गिरी बुक बिल्डिङ विधि कार्यान्वयनमा आए सेयरबजारप्रतिको सोचाइ परिवर्तन हुने बताउँछन्। 

‘शिवम् सिमेन्ट धितोपत्र बजारमा आइसकेपछि मात्र अन्य कम्पनी सेयरबजारमा आउन इच्छुक देखिएका हुन्’, उनले नेपालखबरसँग भने, ‘अब दुई–तीन कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ जारी गरिसकेपछि राम्रा कम्पनी धितोपत्र बजार आउनेछन्। त्यसैले अब बुक बिल्डिङमा ढिलाइ गर्नुहुँदैन।’

उनका अनुसार बजारका लागि बुक बिल्डिङ अति आवश्यक छ। यसले बजारको स्वरूप नै परिवर्तन हुन्छ। नयाँ कुरा सुरु गर्दा केही अप्ठ्यारो आउने र त्यसलाई समाधान गर्दै जानुपर्ने गिरीको भनाइ छ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की पनि बुक बिल्डिङमा ढिलाइ भएको बताउँछन्। उनका अनुसार फेयर सिस्टम भइसकेपछि बुक बिल्डिङमा बोर्ड डराउनुपर्ने ठाउँ रहँदैन।

पछिल्लो समय लिमिटेडबाट पब्लिक हुने कम्पनी धेरै छन्। बुक बिल्डिङमा फेयर प्राइस हुन्छ भनेर धेरै कम्पनी लिमिटेडबाट पब्लिकमा जानथालेको उनको बुझाइ छ। 

अधिकांश कम्पनीलाई सुशासनमा चल्नुपर्ने डर!
पछिल्लो समय प्राइभेटबाट पब्लिकमा रुपान्तरण हुने कम्पनी बढ्दै गएका छन्। प्राइभेटबाट पब्लिकमा रुपान्तरण हुने कम्पनीले आईपीओ जारी गर्न पाउँछन्। बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रोपावर कम्पनीले पब्लिकमा भएर अनिवार्य आईपीओ जारी गर्नुपर्ने व्यवस्था छ। 

अन्य सेक्टरका कम्पनीलाई भने बाध्यात्मक अवस्था छैन। सरकारले यो आर्थिक वर्ष २०७९÷०८० को बजेटमा १ अर्ब रूपैयाँ वा त्यसभन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोत उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई सार्वजनिक गरी सूचीकृत हुनुपर्ने व्यवस्था मिलाइने जनाएको छ। 

सर्वसाधारणले पनि सुशासनका रूपमा लिमिटेड कम्पनीको तुलनामा पब्लिक लिमिटेड कम्पनीलाई रुचाउँछन। त्यसैले पनि पछिल्लो समय कम्पनीहरु रुपान्तरण भइरहेका छन्। 

प्राइभेट आफ्नै हिसाबले चलाएका कम्पनी हुन् भने पब्लिक कम्पनी अनुशासनमा चलिरहेका हुन्छन्। 

उनीहरू मूल्यका हिसाबले सेयरबजार आउन लालायित भए पनि सुशासनमा चल्नुपर्छ भनेर आउन नचाहने गरेको पूर्वअध्यक्ष कार्की बताउँछन्। 

‘प्राइभेट कम्पनी पब्लिकमा आइसकेपछि अनुशासनमा बस्नुपर्छ,’ उनले भने, ‘एईसीडीअन्तर्गतको कोड अफ कन्डक्टमा कम्पनी सञ्चालकलाई सुशासन निर्देशिका लागू गरिएको छ।’

उनका अनुसार निर्देशिकामा एउटै व्यक्तिका दुई कम्पनी भए दुवैतिर सञ्चालक बन्न नपाउने व्यवस्था छ। 

‘रियल सेक्टरका अधिकांश कम्पनीका सञ्चालक दुईतिर हुने र दुईथरि एकाउन्ट प्रयोग गर्ने गरिरहेका छन्’, उनले भने, ‘पब्लिकमा गइसकेपछि पुँजीबजारको अनुशासनमा आउनुपर्छ। दुईतिर सञ्चालक भए कारबाही हुन्छ। यी कुराले अधिकांश रियल सेक्टरका कम्पनी सेयरबजारमा आउन हच्किएका छन्।’ 

रियल सेक्टरका कम्पनीको नियमन भएकाले तिनीहरूलाई सरकारले सामान्य संस्थाका रूपमा हेर्ने गरेको छ। 

‘होटललगायत अधिकांश रियल सेक्टरको नियमन छैन’, उनले भने, ‘नियमन नहुँदा दुई–तीन एकाउन्ट बनाउने, राजस्वको एउटा, बैंकमा एउटा गर्दछन्। पब्लिकमा आइसकेपछि सानो सूचना आउँदा पनि कारबाही हुन्छ।’ 

सुशासनमा बस्नुपर्ने हुँदा रियल सेक्टर सेयरबजार आउन नचाहेको उनको भनाइ छ।   

‘बैंक तथा वित्तीय संस्था, बीमा नियमनमा पर्छन्। नियमनमा पर्ने संस्थालाई यसमा आउन सहज छ’, उनले भने, ‘नियमन नहुने संस्था आनन्दले चलेका छन्। तिनीहरू सुशासनमा बस्न गाह्रो मानेर सेयर बजार आउन नचाहेका हुन्।’

उनका अनुसार रियल सेक्टरलाई सेयरबजारमा ल्याउन बुक बिल्डिङ मात्र होइन, सरकारले करको दायरा सबैका लागि एउटै बनाउनुपर्छ।
साथै, दुईवटा एकाउन्ट बनाउनेलाई कडाइ गरे रियल सेक्टर सेयर बजार आउने कार्कीले बताए। 

अन्तर्राष्ट्रियस्तरका सुशासनमा रहेका केही कम्पनी भने बुक बिल्डिङमार्फत सेयरबजारमा आउन चाहिरहेको कार्कीले बताए। 

अमेरिकाबाट सुरु भएको यो विधि हाल भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ भने एक अध्ययन प्रतिवेदनअनुसार विश्वका ४० भन्दा बढी देशमा यसको सफल प्रयोग भइसकेको छ।

संसारभरि विभिन्न देशले आफ्नो अर्थतन्त्र र पुँजीबजार सुहाउँदो ढाँचामा बुक बिल्डिङ विधि लागू गरेका छन। 

अब चाँडै बुक बिल्डिङलाई प्राथमिकता दिन्छौँ : अध्यक्ष हमाल 
बोर्डले बुक बिल्डिङमा गरिरहेको ढिलाइबारे जिज्ञासा राख्दा जनशक्तिको अभाव मुख्य कारण भएको बताउँछन् धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल। 

उनका अनुसार थोरै जनशक्तिमा धेरै काम गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो। 

‘जनशक्ति बढाउने तयारीमा छौँ’, उनले भने, ‘अब चाँडै बुक बिल्डिङलाई प्राथमिकता दिन्छौँ।’

बुक बिल्डिङमा बाटो ‘सफा’ गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यसको सफाइ भइरहेको बताए। अध्यक्ष हमालका अनुसार अब एक महिनामा सबै सफाइ गरेर बुक बिल्डिङमार्फत सेयर जारी गर्न दिइनेछ।

बजारमा ‘फेयर भ्यालु सिस्टम’ भएपछि मात्र अन्य रियल सेक्टरका कम्पनी बजार आउने हमालले बताए। 

‘फेयर सिस्टम छ भन्ने नभएसम्म जति घोक्रेठ्याक लगाए पनि कम्पनी आउँदैनन्’, उनले भने।

यता अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि सेयरबजारमा वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउन सरकारले वातावरण मिलाउनुपर्ने बताउँछन्। 

सेयर बजारमा बैंक तथा वित्तीय र हाइड्रोपावर कम्पनीको मात्र बाहुल्य रहेकाले अब वास्तविक क्षेत्रका कम्पनी ल्याउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। 

त्यसो त धितोपत्र बोर्डले जानाजान बुक बिल्डिङमा ढिलाइ गरिरहेको बोर्डकै कर्मचारी बताउँछन्। 

नयाँ स्टक एक्सचेञ्जको पर्खाइले गर्दा बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्न खोजिरहेका कम्पनीले पनि स्वीकृति नपाएको एक कर्मचारीले बताए। 

उनका अनुसार नयाँ स्टक एक्सचेञ्ज आएपछि मात्र बोर्डले बुक बिल्डिङ अगाडि बढाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .