सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताएका छन्।
धमाधम क्रसर उद्योग बन्द हुन थालेपछि आफूलाई भेट्न आएका निर्माण व्यवसायीलाई यसबारे मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिँदै समस्या समाधान गर्ने आश्वासन दिएका हुन्।
निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबार बिहानको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए।
गैरकानुनी तरिकाले क्रसर सञ्चालन गर्ने केही व्यक्तिका कारण नियमसंगत तरिकाले उद्योग सञ्चालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताए। निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भीक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे।
महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको अवरोधका कारण निर्माणकार्य प्राय: ठप्प भएको जानकारी गराए।
निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुसी लागेको अध्यक्ष सिंहले बताए। पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए।
सोही अवसरमा अध्यक्ष सिंहले मन्त्री पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.),महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी पनि रहेका थिए।
Shares

प्रतिक्रिया