ad ad

कारोबार


यती जहाज दुर्घटना : एटीआर ७२ बाट विश्वमा नै ठूलो मानवीय क्षति

यती जहाज दुर्घटना : एटीआर ७२ बाट विश्वमा नै ठूलो मानवीय क्षति

दुर्घटनामा परेको यतीको एटीआर जहाज (फाइल तस्बिर)


वसन्त अर्याल
माघ २, २०७९ सोमबार १८:२७, काठमाडौँ

आइतबार पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा एटीआर ७२ विमानको इतिहासमै हालसम्मकै ठूलो क्षति भएको पाइएको छ। 

यतीको नाइनएन–एएनसी एटीआर ७२ जहाज काठमाडौंबाट पोखरा जाने क्रममा अवतरणको संघारमा दुर्घटनाग्रस्त भएको थियो।

सो दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको हो। जुन विश्वमा नै पहिलोपटक भएको सबैभन्दा ठूलो क्षति हो। 

यसअघि अमेरिका र क्युबामा पनि एटीआर ७२ जहाज दुर्घटनामा परेका थिए। दुवै दुर्घटनामा क्रमशः ६८–६८ जनाको मृत्यु भएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा रहेका ७२ मध्ये ३ जनाको अवस्था अझै अज्ञात छ। 

क्युबामा दुर्घटना भएको एटीआर ७२ विमान।

यस्तो छ एटीआर ७२ दुर्घटनाको इतिहास 
एभिएसन सेफ्टी नेटवर्क (एएसएन)का अनुसार एटीआर ७२ शृंखलाका जहाज सम्मिलित हालसम्म ठूला साना गरी ६६ वटा दुर्घटना भएका छन्। जसमा मानिसको ज्यानै जाने गरी १२ वटा मात्रै दुर्घटना भएको एएसएनले जनाएको छ। 

एटीआर ७२ जहाजसन् १९९४ मा पहिलोपटक अमेरिकामा दुर्घटनामा परेको थियो। 

उक्त दुर्घटनामा ६८ जनाको मृत्यु भएको थियो। त्यसयता एटीआर ७२ जहाज क्युबा, इरान, लाओस, ताइवान, रसिया, इटाली र थाइल्यान्डमा दुर्घटना भएको छ। यो जहाज ताइवानमा सबैभन्दा बढी दुर्घटना भएको छ।

तर आइतबार नेपालमा भएको एटीआर दुर्घटना भने हालसम्मकै ठूलो क्षतिका रुपमा भएको छ। उड्डयन प्राधिकरणले ६९ जनाको शव भेटिएको जनाएको छ भने तीन जनाको अवस्था सोमबारसम्म अज्ञात नै छ। दुर्घटनामा भेटिएका सबै जनाको मृत्यु भएकाले बाँकी यात्रु पनि जीवित हुने सम्भावना निकै कम छ। 

यतीका ६ दुर्घटना
नेपालमा एटीआरका विमानबाट सेवा दिनेमध्ये यति एयरलाइन्सका विमान हालसम्म ६ वटा दुर्घटनामा परेका छन्। जसमा ४ वटा ट्विनअटर विमान दुर्घटना समावेश छ। सन् २०१६ मा जेटस्ट्रिम जहाज दुर्घटना भएको थियो। एटीआर ७२ भने आइतबार दुर्घटना भएको हो। 

हाल बढी एटीआर विमान निजी क्षेत्रको अर्को कम्पनी बुद्ध एयरसँग छ। कम्पनीको जहाज हालसम्म एकपटक मात्र दुर्घटनामा परे पनि त्यसमा एटीआर विमान सामेल छैन। उक्त एक दुर्घटनामा बिच १९००डी जहाज परेको थियो। 

नेपालमा पहिलो एटीआर ७२ दुर्घटना
यतीको जहाज विश्वकै ठूलो क्षति पुर्‍याउने गरी दुर्घटना भएको हो। जुन नेपालमा एटीआर ७२ जहाज दुर्घटनामा परेको पहिलोपटक हो। प्राधिकरणका अनुसार नेपालको आन्तरिक उडानमा यो हालसम्मकै ठूलो दुर्घटना हो। 

आइतबार भएको दुर्घटनाग्रस्त जहाजमा ५३ नेपाली र १५ विदेशी नागरिक रहेका थिए। काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा दुर्घटना भएको हो। नेपालमा खासगरी दुर्गम क्षेत्रमा ट्विनअटर जहाज बढी दुर्घटना भएका छन्। एटीआर ७२ भने अहिलेसम्म दुर्घटना भएको थिएन। 

पहाडी क्षेत्रमा सुरक्षित मानिने विमानस्थल रुटमै पछिल्लो दुर्घटना भएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले एटीआर ७२ जहाज पहिलो पटक दुर्घटनामा परेको जानकारी दिए।

‘काठमाडौं पोखरा रुट र एटीआर ७२ जहाज सुरक्षित मानिन्छ’, निरौलाले भने, ‘यहाँ एटीआर पहिलो दुर्घटनामा परेको हो।’

यसकारण एटीआरलाई सुरक्षित मानिन्छ
एटीआर ७२ जहाजमा २ वटा इन्जिन रहन्छन्। यतिको जहाजमा ७२ सिट क्षमता थियो। यो विमानलाई सुरक्षित मानिन्छ। 

मध्यम आकारको यो जहाज नेपालमा उपयुक्त देखिएकाले कम्पनीहरुले प्रयोग गर्दै आएका छन्। 

प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले एटीआरका विमान नेपालको सुगम क्षेत्रका लागि सुरक्षित मानिने बताए। 

उनले पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर जस्ता रुटको लागि सुरक्षित र कम खर्चिलो विमान भएको बताए। उनले एटीआर जहाज नेपालमा मात्रै नभई विश्वभर नै सुरक्षित मानिने बताए।

‘सुरक्षित मानिएको जहाज के कारणले दुर्घटना भयो अचम्मित छु’, क्षेत्रीले भने। 

आन्तरिक हवाइ सेवा प्रदान गर्दै आएकामध्ये यतीसँग यस्ता छवटा विमान छन् भने सबैभन्दा बढी बुद्ध एयरसँग ११ वटा छन्। 

बुद्ध एयरले आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगटेको छ। बुद्धले एटीआर ७२ मार्फत काठमाडौं (नेपाल)–बनारस (भारत) रुटमा समेत उडान गर्ने तयारी गरिरहेको छ। 

एटीआर ७२ जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनल (एटीआर)ले उत्पादन गर्दै आएको छ। 

नेकोन एयरको एटीआर ४२ विमान (फाइल तस्बिर : विकिमिडिया कमन्स)

नेकोनले भित्र्याएको थियो नेपालमा पहिलो एटीआर
यती र बुद्धले यो शृंखलाका धेरै विमान प्रयोग गरे पनि नेपालमा पहिलोपटक एटीआरका जहाज भित्र्याउनेमा नेकोन एयर पर्छ। कम्पनीले एटीआर ४२ जहाजबाट नेपालमा उडान सुरु गरेको थियो। 

तर अहिले नेकोन एयर बन्द भइसकेको छ। योसँगै बुद्ध एयरले २००९ मा एटीआर ७२ जहाजले उडान सुरु गरेको थियो। एटीआर ७२ जहाज नेपालमा बुद्ध एयरले नै २०१० मा भित्र्याएको थियो। बुद्धले सन् २०१० यता एटीआर ७२ जहाज मात्रै भित्र्याएको छ। 

‘नेपालमा पहिलोपटक नेकोन एयरले एटीआरका जहाज भित्र्याएको थियो’, क्षेत्रीले भने, ‘त्यसपछि बुद्धले भित्र्यायो। अहिले बुद्ध र यति एयरलाइन्सले उडान गर्दै आएका छन्।’

बुद्ध र यति एयरले नयाँ जहाज ल्याउँदा एटीआर थप एटीआर जहाज नै ल्याउने जनाएका छन्। 

‘बुद्धले निकट भविष्यमै ३ वटा एटीआर ७२ जहाज भित्र्याउन लागेको छ’, बुद्ध एयरले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .