नेपाल निर्यात परिषद्ले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
बुधवार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै परिषद्ले आयातमुखी अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सवल बन्न नसक्ने भएकाले निर्यात प्रवद्र्धनका लागि निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
पत्रकार अध्यक्ष रेशमबहादुर पोखरेलले सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्य गर्नुपर्ने बताए। उनले नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिष्पर्धी बनाउन निर्यातमुलक उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने बताए।
उनले विभिन्न देशमा रहेका नेपाली दुतावासहरुमार्फत नेपालका निर्यात योग्य वस्तुहरु व्यापक रुपमा प्रचार गर्नुपर्ने बताए। उनले सरकारले नेपाली उत्पादन वस्तु विदेशमा निर्यात गर्नको लागि विश्वव्यापी मान्यता प्राप्त ल्यापको स्थापना गर्न माग गरे।
अध्यक्ष पोखरेलले चर्को हवाई भाडा,दक्ष जनशक्तिको अभाव, तरलता अभाव, बजार प्रवद्र्धन कच्चा पदार्थ ढुवानी खर्च महँगो, बजार विविधिकरणको कमीका कारण नेपाली उत्पादन विदेशमा निर्यात वृद्धि गर्न नसकिएको बताए। उनले नेपालको आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कुल निकासी ३४.६ प्रतिशतले कमी आएर ६७.३० अर्ब रहेको बताए।
परिषद्ले निर्यात दिवसको अवसरमा पुस २१ र २२ गते काठमाडौंको ठमेलमा नेपाली निर्यात जन्य वस्तुहरुको वृहत प्रदर्शनी आयोजना गर्ने भएको छ। आयातमुखी बजारलाई निर्यातमुखी बनाउनको लागि वृहत प्रदर्शनी आयोजना गर्न लागेको बताएको छ। नेपालमा उत्पादन भएका वस्तुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न प्रदर्शनीले सहयोग गर्ने विश्वास गरेको छ।
Shares

प्रतिक्रिया