नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।
वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको हो।
वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै वीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो। यस किसिमको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरे।
फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको हो। अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको हो।
क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने, ‘वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ।’
उनले हरेक दिन अस्पताललाई प्रविधिमैत्री बनाउँदै लगिरहने बताउँदै यो सुविधासँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुिक्त मिल्नुका साथै कुनै पनि सेवाको क्यूआरमार्फत भुक्तानी गर्न सकिने जानकारी दिए।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्।
एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।
Shares

प्रतिक्रिया