कारोबार


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल


जमुना वर्षा शर्मा
पुस १९, २०७९ मंगलबार १७:४४, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ। विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन्। 

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताए। उनले भने, ‘विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा शङ्करराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरेका थिए। उनको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो, निरन्तरका प्रयासपछि आज पोखरेलीको सपना पूरा भयो।’ विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उनको विश्वास छ। साथै गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखराबासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उनको बुझाइ छ। 

पोखरा क्षेत्रीय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ मा विज्ञप्ति जारी गरी सङ्घर्षको आन्दोलन सुरु गरेको थियो। आन्दोलनमा एक सय ५१ श्रृखङ्लासम्म दुई हजार चार सय दुई जनाले रिले अनसन बसेका थिए। सो समयमा आफूलगायतका केही व्यक्तिले आमरण अनशन बस्न तयार भएको भन्दै नामसमेत लेखाएको त्रिपाठीले स्मरण गरे। 

तत्कालीन समयमा पाँचसयवटा कारले काठमाडौँसम्म दबाबमूलक यात्रा गरेर नेपाल नागरिक उडड्यन प्राधिकरण घेरा हालेको अनुभव पनि उनीसँग छ। आधुनिक पोखरासँगै यसको निर्माणमा पूर्वपर्यटन मन्त्री स्व रवीन्द्र अधिकारीको योगदान बिर्सन नहुने त्रिपाठीको भनाइ छ। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ राष्ट्रिय गौरबको आयोजना यति छिटो पूरा भएर उद्घाटन हुनु आफैँमा गर्वको विषय भएको जनाउँदै अब पोखराको पर्यटनले गति लिनेमा आफू विश्वस्त भएको बताउँछन्। ‘पोखरामा विमानस्थल निर्माणलाई तत्काल नै नाफा/घाटा हेरेर हुँदैन, यसले यहाँको आर्थिक विकासमा दीर्घकालीनरुपमा कसरी लाभ हासिल गर्न सकिन्छ भन्ने विषयमा अबको बहस केन्द्रित गर्नुपर्छ’, श्रेष्ठले भने। 

उनले अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले पोखराबाट भारतका विभिन्न तीन गन्तव्यमा उडानका लागि पहल गरेको र अन्य एयरलाइन्सले पनि पोखराबाट उडानका लागि चासो देखाएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए। 

रेस्टुराँ एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले विमानस्थलको औपचारिक सञ्चालनले नयाँ वर्षको आगमनसँगै पोखरेलीमा थप खुसी सञ्चार गराएको बताए। उनले भने, ‘यो सानो प्रयास र सङ्घर्षले बनेको छैन, यहाँ दिनरात नभनी पोखरेलीको अनवरत रिले अनशन र विकासप्रतिको साझा सङ्कल्पले सफल भएको हो।’ 

उनले विमानस्थल सञ्चालनमा आउन सक्ने चुनौतीलाई सुरुदेखि व्यवस्थित गर्दैै लानसके यो सफल विमानस्थलका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे। सरकारले दिगोपर्यटन विकासका लागि निजी क्षेत्रको सहभागितामा थप रणनीतिक कार्ययोजना बनाएर पर्यटकीय गतिविधि बढाउन तर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। 

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले विमानस्थल सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे। ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भयो, हवाईमार्गले अब पोखरालाई विश्वसँग जोड्ने छ । दिगो पर्यटनका लागि योसँगै अझै थप पूर्वाधार जरुरी छ’, अधिकारीले भने। 

पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले अब सिधैँ विदेशी पर्यटक पोखरा आएर हिमशृङ्खलाको दृश्यवलोकनसँगै तालतलैया र स्वच्छ वातावरणमा रमाउन पाउने र आकर्षक गन्तव्यका रुपमा थप विकास हुने विश्वास उनले व्यक्त गरे। ‘नेपाल भन्नेबित्तिकै विदेशीले पहिले पोखरा सम्झने गर्थे अब सिधै हवाईमार्गबाट पोखरा घुम्न आउने बाटो खुलेको छ, हामी आशावादी छौँ पोखराको पर्यटनले पक्कै उचाइ चुम्ने छ’, अधिकारीले भने। 

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसियसनका  पूर्वअध्यक्ष दामोदारभक्त थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथको पर्यटन प्रवर्द्धन र विकास हुनेमा आशावादी भएको बताए। उनले भने, ‘नयाँ विमानस्थलसँग लेखनाथको बेगनासम्मको दुरी जम्मा १० किलोमिटर छ, यसले साततालको सुन्दरता बोकेको लेखनाथमा पर्यटकीय गतिविधि पक्कै बढाउने छ।’

उनले पोखराको लेकसाइड र लेखनाथको बेगनास समदुरीमा रहेको र सरकारले समभाव राखेर पूर्वाधार विकास गर्नुपर्ने जोड दिए। ग्रेटर पोखराको अवधारणाअनुरुप कहाँ लगानी गर्दा पर्यटनमा दिगो विकास हुन्छ त्यसतर्फ ध्यान दिन उनको आग्रह छ। 

‘अहिले लेखनाथको माझिकुना आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गन्तव्य बन्दै गएको छ तर त्यहाँसम्म जाने सडक पूर्वाधार बन्न सकेको छैन’, उनले भने, ‘यसले एकपटक गएको पर्यटक अर्कोचोटी जान गाह्रो मान्न सक्छन्। त्यसैले सडक पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ।’ लेखनाथबाट विमानसथल जान ट्राफिक जाम नहुने र सहज हुने भएकाले पनि अब पर्यटकको रोजाइँमा लेखनाथ पर्ने उनको विश्वास छ। 

धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक एवं ऐतिहासिक रुपले रहेकाले पनि अबका दिनमा लेखनाथ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै जाने उनले बताए। राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थलाई प्रभावकारी सञ्चालन गरेर देशकै गर्व गर्न लायक विमानस्थलका रुपमा विकास गर्नुपर्ने र सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ। 

चीनको एक्जिम बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण भएको हो। विमानस्थल करिब तीन हजार सात सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad