ad ad

कारोबार


अर्थमन्त्रीको कुर्सीबाट पौडेलले दिएको संकेत : आत्मविश्वास दिलाएर अर्थतन्त्र सुधार्ने

अर्थमन्त्रीको कुर्सीबाट पौडेलले दिएको संकेत : आत्मविश्वास दिलाएर अर्थतन्त्र सुधार्ने

नवनियुक्त अर्थमन्त्रीसँग उद्योगी


दीपक भट्ट
पुस १३, २०७९ बुधबार १२:४२, काठमाडौँ

तेस्रोपटक अर्थमन्त्री बनेका विष्णु पौडेल आफैँमा अर्थविद् होइनन्। तर पनि अर्थमन्त्री बन्ने हल्लापछि अर्थतन्त्रको एक सूचक मानिने सेयरबजारमा सुधारको संकेत देखिएको छ। 

लामो समयदेखि १ अर्ब हाराहारीको दैनिक कारोबार हुन नसकेको सेयरबजारमा मंगलबार ३ अर्बमाथिको कारोबार भयो। सोमबार पनि सेयरबजार राम्रैसँग बढेको थियो। 

बजार परिसूचक नेप्से सूचक पनि ह्वात्तै बढेको छ। विष्णु पौडेलले योभन्दा अघि दुईपटक अर्थमन्त्री बन्दा उनले निर्णय गर्नुपूर्व धेरैसँग राय लिन्थे। समस्या समाधानको लागि दुईपक्षीय वार्ता गराइदिन्थे। नियामक निकाय र उद्योगी व्यवसाय तथा लगानीकर्ताहरु र नियामकहरुलाई सँगै राखेर उनले छलफल गराउँथे।  

मन्त्रीको त्यस प्रकारको क्रियाशीलताले आफैँ आत्मविश्वास बढ्ने गरेको उद्योगी व्यवसायी बताउँछन्। यसपटक पनि मन्त्री भएको भोलिपल्ट (मंगलबार) देखि नै उनले समस्या समाधानमा तत्परता सुरु गरेका हुन्।  

उनले उद्योगी व्यवसायीले मौद्रिक नीतिसँग लिएर गरेको गुनासो अर्थात् ब्याजदर वृद्धिको समस्याबारे राष्ट्र बैंकको गभर्नर तथा राष्ट्र बैंक पदाधिकारी सबैलाई सँगै राखेर छलफल गरेका छन्। 

अर्थमन्त्री पौडेल

त्यति मात्रै नभई विराटनगरमा आन्दोलनरत व्यवसायीलाई फोन गरेर उनले अर्थ मन्त्रालयमा निम्ता दिए। उनले छलफलको लागि बोलाउनेबित्तिकै उद्योगी व्यवसायीहरुले आन्दोलन फिर्ता लिएर वस्तु उत्पादन तथा व्यापार व्यवसाय नियमित गर्ने निर्णय लिएका छन्। 

मंगलबार नै मन्त्री पौडेलले उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई भेटे, उनीहरुको समस्या मनन गरेको बताए। 

नेपाल उद्योग परिसंघका पदाधिकारीले अर्थमन्त्रीसँगको भेटमा आत्मबल बढेको बताइसकेका छन्। उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न परिसंघ टोलीले गरेको आग्रहलाई मन्त्री पौडेलले सकारात्मक रुपमा लिएका छन्। 

परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने, ‘आत्मबल भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। त्यसले नै निजी क्षेत्रले काम गर्ने हो।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको टोलीले पनि नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटेर अर्थतन्त्रको अवस्थाबारे अवगत गराइसकेको छ। 

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव सो अवसरमा राखेका थिए। 

परिसंघको टोलीलाई भेट दिँदै अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र अतिसंवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिएका थिए। 

उक्त भेटमा पनि अर्थमन्त्री पौडेलले निजी क्षेत्रको आत्मबल बढ्ने विषयहरु बोलेको महासंघले बताएको छ। सरकार र निजी क्षेत्रबीचको सम्बन्ध अन्योन्याश्रित रहेको मन्त्री पौडेलले बताएका थिए। 

‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ’, मन्त्री पौडेलले महासंघका पदाधिकारीलाई भने, ‘म तपाईंहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्नेछु।’ 

निजी क्षेत्रको आत्मबल बढाउने गरी भेटघाट र वचन दिने मात्रै होइन अर्थमन्त्री पौडेलले मन्त्रिपरिषदबाटै समस्या समाधानको पहल थालिसकेका छन्। 

मन्त्रिपरिषद्को बैठकले वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ।

यो निर्णय मन्त्रिपरिषद्बाट नै गराउनुपर्ने र नगराई नहुने निर्णय आफैँमा थिएन। तर उनले त्यो आत्मबल बढाउन र उद्योगी व्यवसायीमार्फत अर्थतन्त्र चलायमान बनाउने निर्णयको  रुपमा लिएका छन्।

यति मात्रै नभई उनले कर्मचारीको मनोभावनामा समेत सकारात्मक प्रभाव पार्ने प्रयास मन्त्री भएलगत्तै सुरु गरेका छन्। उनलाई स्वागत गर्न बसेका कर्मचारीलाई सम्बोधन गर्दै उनले मन्त्रीसँग कुनै विषयमा डराउनुपर्ने अवस्था नरहेको भन्दै कर्मचारीको परिवारको समेत स्वास्थ्य अवस्था रामो होस् भन्ने कामना गरेका थिए। 

यसले पनि उनी कर्मचारीसँग आत्मीयता बढाउन चाहेको बुझिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .