नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।
नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको अध्यक्ष मल्लको भनाई छ। सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाईरहेको अध्यक्ष मल्लले बताए।
कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भने,‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको छ। यसले सरकारी राजश्वमा समेत गम्भिर असर गरिरहेको छ। मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ,।’
आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए। सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष मल्लले भने, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन। कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ। करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ।’
कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए। अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई छ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफूहरु तयार रहेको अध्यक्ष मल्लले बताए। खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालु खर्च धान्न समेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए।
Shares

प्रतिक्रिया