एशियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले नेपालमा प्रगतिको अवसर सिर्जना गर्न सहयोग गर्ने बताएका छन्। बालेन्द्र शाह सरकारले अर्थनीतिका नयाँ प्राथमिकता बनाइरहँदा काठमाडौं आइपुगेका उनले नेपालको ‘रिजिलियन्स’ क्षमताको खुलेर प्रशंसा गरेका छन्।
अध्यक्ष कान्दा एडीबीका उच्च अधिकारीहरु सहित आइतबार राति काठमाडौं आइपुगेका हुन्। उनको साथमा एडीबीको दक्षिण एशिया विभागकी महानिर्देशक सोना श्रेष्ठ पनि रहेकी छिन्। उनी नेपाली नागरिक हुन्।
सोमबार दिउँसो उनी त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालय पुगेका थिए। उनले एडीबीको सहयोगमा सञ्चालित अरु आयोजनाको पनि अनुगमन गर्नेछन्। नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर हुनेछ। त्यो पैसा भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरणका लागि खर्च गरिनेछ।
देशी नेता तथा उच्च अधिकारीहरुसँगको भेटमा प्रोटकलको कडा व्यवहार देखाइरहेका प्रधानमन्त्री शाहसँग भोलि मंगलबार उनले भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीले कुनै पनि विदेशी कुटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगरेको कदमलाई धेरैले राज्यको मर्यादा र कुटनीतिक प्रोटकलको पालना गरेको भन्दै प्रशंसा पनि गरेका छन्।
सोमबार नै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने उनले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने तालिका छ।
३.९ अर्ब अमेरिकी डलरको वित्तिय सहयोग गरिरहेको एडीबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हो। ‘हामी नेपालको लचिलोपनलाई दिगो प्रगतिमा बदल्न, थप अवसरहरु सिर्जना गर्न र दीर्घकालीन वृद्धिको आरधाशीला निर्माण गर्न सहयोग गर्नेछौँ’, सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।
Shares

प्रतिक्रिया