ad ad

कारोबार


अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

नेपालखबर
पुस १०, २०७९ आइतबार १२:३६, काठमाडौँ

नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुण कुमार चौधरी, द्धितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्बिरोध भएका हुन्। त्यसै गरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरु बल्लभ पराजुली निर्विरोध भएका छन्। संघको सदस्यमा दिल बिक्रम श्रेष्ठ, भोला मान योञ्जन, ऋषि किशोर अग्रवाल, सम्यक मान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रञ्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेक बहादुर कार्की निर्विरोध भएका हुन्। 

निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप ३ जना सदस्यहरु मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ। 
संघको साधारण सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासो आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिएकी थिइन्। कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाईले फर्निचरका उत्पादन ओसारपोसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए। महानगरले अघि सारेका योजना राम्रा भए पनि व्यवसायीसँग छलफल नगर्दा व्यवस्थापकीय समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो।

संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेण्डरमा सहभागी हुनबाट वञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए। टेण्डरमा सहभागी हुनबाट वञ्चित गराइँदा कच्चा पदार्थको अभावमा फर्निचर उद्योगहरु समस्यामा पर्ने र अर्कोतर्फ वनजंगलमा काठ खेर जाने अवस्था बनेको बताए। 

संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक व्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए। विद्यमान कानुन समयसापेक्ष रुपमा संशोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावारको उचित सदुपयोग हुन नसकेको उनको भनाइ थियो।

वैज्ञानिकीकरण बजारीकीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको साधारण सभाका अन्य वक्ताहरुले राखेका थिए। अनौपचारिक रुपमा फर्निचर व्यवसाय गरिरहेकाहरुलाई दर्ता भएर कानुनी रुपमा व्यवसाय सञ्चालन गर्न पनि उनीहरुले आग्रह गरेका थिए।

कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेश अग्रवाल सहित संघलाई स्थापित गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो। संघमा २०० आजीवन र ४०० साधारण सदस्य गरी ६०० फर्निचर व्यवसायी आबद्ध छन्।

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन्। यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ। जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .