ad ad

कारोबार


व्यवसायीसमेत रहेका सांसदहरूले शपथग्रहण पछि के भने?

व्यवसायीसमेत रहेका सांसदहरूले शपथग्रहण पछि के भने?

फाइल फोटाे


नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:५२, काठमाडौँ

बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायीसमेत रहेका सांसदहरुले बताएका छन्।

बिहीवार शपथग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउनको लागि काम गर्ने बताएका हुन्।

उनीहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, पुँजीगत खर्च ३५ प्रतिशत भन्दा कम हुने, कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए।

उनले बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको बताए। उनले पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने बताए। उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय प्रक्रियामा काम गर्नुपर्ने बताए।

उनले भने,‘ बजारमा तरलता अभाव रहेको अवस्था छ। बजेट ३५ प्रतिशत भन्दा कम उठेको स्थिति छ। ऋण लिएर कर्मचारीहरुको तलब धान्नुपर्ने स्थिति छ। अहिले अत्याधिक मात्रामा उत्पादन घटेको अवस्था र बैंकको ब्याजदर बढ्नाले प्राय सबै उद्योग व्यवसायहरु चल्न नसक्ने अवस्थामा पुगेका छन्। त्यस्तै ५० देखि ६० हजार युवाहरु नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकताका आधारमा विदेश गइरहेको अवस्था छ। १ खर्ब भन्दा बढी वार्षिक धान्न नसक्ने खर्च लगायत समस्याहरु रहेका छन्। यी समस्याहरु तत्काल सरकार गर्न सकिएन भने देशको अर्थतन्त्रले धान्न सक्दैन। त्यो समस्या समाधान गर्ने प्रतिनिधि पात्र म पनि हो। ती प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर आगामी आउने सरकारले सम्पूर्ण कामको लानुपर्छ।’

त्यस्तै, व्यवसायी समेत रहेका नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हीतका लागि काम गर्ने बताए।

उनले भने,‘प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण पश्चात संसदमा प्रवेश गर्ने ढोका खुलेको छ। मुलुकको आर्थिक उन्नती र निजी क्षेत्रको हीतका लागि काम गर्नेछु।’

त्यस्तै, मेडिकल व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताए। उनले कानून निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा पहल गर्ने बताए। उनले आगामी पाँच वर्षमा सबै भन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने बताए।

उनले भने,‘निजी क्षेत्रका व्यवसायीहरुको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको क्रममा गर्नसक्ने काम गर्नेछु। कानून निर्माण गर्दा व्यापारीहरुको पक्ष र राज्यको पक्षमा के गर्न सकिन्छ त्यो विषयमा पहल गर्छु। मेरो पहिलो प्राथमिकता पूर्वाञ्चल विश्व विद्यालयको मेडिकल कलेज स्थापना गराउनु छ। निर्वाचन क्षेत्रको विकास निर्माण र देश निर्माणको सवालमा लाग्छु।’

त्यस्तै, शेयर लगानी कर्तासमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने बताए। उनले शेयर बजारको बिस्तार विकासको लागि नियमन निकायहरुले बनाउन नसकेका नीतिगत व्यवस्थाहरु बनाउन पहल गर्ने बताए। उनले निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्ने बताए।

उनले भने,‘मैले एउटा मात्रै क्षेत्र हेरेर हुँदैन सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने हो। निजी क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि बनाउन बाँकी नीति नियमहरु बनाउन लाग्नेछु।’

त्यस्तै,अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रुपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताए। उनले बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको बताए। उनले संसदमा ब्याजदर कम गरेर व्यवसायीहरुलाई राहत दिने काम गर्ने बताए।

उनले भने,‘अहिले विश्वव्यापी रुपमा नै अर्थतन्त्रमा असर परेको छ। पछिल्लो समय नेपालमा बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरुलाई असर परेको छ। त्यो विषयमा सदनमा कुरा उठाउँछौं। बैंकको ब्यादर कम गरेर व्यवसायीहरुलाई सहयोग गरेर राहत दिन्छु।’

उद्योगी व्यवसायीहरु समेत  रहेका सांसदहरुले समग्र मुलुकभरका जनताका समस्या भन्दा पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्न काम गर्ने बताए। व्यवसायी सांसदहरुको आगामी दिनमा कस्तो भुमिका खेल्ने छ त्यो भने हेर्न बाँकी नै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .