पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान भएको छ।
यती एयरलाइन्सको एटीआर ७२ र बुद्ध एयरको जहाजले काठमाडौंबाट पोखरामा नवनिर्मित विमानस्थलमा डेमो उडान गरेका हुन्।
यतीको ९एन–एनसी जहाजमार्फत क्याप्टेन प्रमोदराज पौडेल र क्याप्टेन कमल केसीले पहिलो डेमो (प्रर्दशन) उडान सफल रुपमा गरे।
पुस १७ गतेबाट नयाँ विमानस्थलबाट नियमित उडान हुँदै छ। त्यसअघि कम्पनीहरुले डेमो उडान सम्पन्न गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले क्यालिब्रेसन उडान भइसकेको विमानस्थलमा एटीआर ७२ जहाजले डेमो उडान गरेको जानकारी दिए।
‘आज यती एयरले डेमो उडान गरेको छ’, उनले भने, ‘१७ गतेबाट आन्तरिक उडान नियमित हुन्छ।’

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले नियमित उडानको तयारीको लागि डेमो उडान गरेको जनाएको छ।
पर्यटकीय नगरीमा पोखरामा नागरिक उड्डयन प्राधिकरणले जनवरी १ तारिखबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले नियमित उडान गर्ने जनाएको छ।
उडान भर्ने तयारीस्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भूमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलस्थित अफिस तयार गर्नेलगायतका आन्तरिक कामलाई तीव्र बनाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटीआर–७२ विमानमार्फत यतीले पहिलो पटक प्रदर्शन उडान गरेको जनाए।
यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान गरेको हो। यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तुस्थिति जानकारी हासिल गर्न सहज हुने एयरलाइन्सले जनाएको छ।
काठमाडौंबाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखराबाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने जनाएको छ।

यता पोखराबाट बुद्ध एयरले पनि डेढ दर्जन बढी उडान गर्दै आएको छ।
पोखरामा बुद्ध र यतीबाहेक श्री र गुण एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्। पुस १७ गतेबाट सबै कम्पनीले नयाँ विमानस्थलबाटै उडान गर्दै छन्।
पोखरा विमानस्थलको क्षमताअनुसार १५० देखि १८० सिटसम्मका एयरबस ३२० र बोइङ ७५७ उडान र अवतरण गर्न सक्छन्। विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्विनअटर विमान पार्किङ गर्न सकिन्छ। हालको २५ सय लामो रनवे बनेको छ।

पोखराबाट भारत उड्ने बुद्धको प्रस्ताव
बुद्ध एयरले पोखराबाट भारतका ३ वटा गन्तव्यमा उडान गर्ने तयारी गरेको छ। यसका लागि प्रस्ताव गरे पनि उडान अनुमति भने पाउन बाँकी छ। बुद्धले पोखरा विमानस्थललाई हब बनाएर भारतका विभिन्न गन्तव्यमा उडान गर्ने जनाएको छ।
बुद्ध एयरले बनारस हप्तामा ३ सिधा उडान गर्ने तालिका नै बनाएर जनवरीबाट उडान गर्ने बताए पनि अनुमति पाउनसकेको छैन।
बुद्ध एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान गर्ने जनाएको छ।
त्यस्तै पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि तयारी गरेको छ। हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस–काठमाडौं हवाइ सेवा सञ्चालन गर्दै आएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणले पोखराबाट अन्तर्राष्ट्रिय उडान तत्काल हुने अवस्था नरहेको बताएको छ।
‘भारतले बुद्ध एयरलाई उडान अनुमति दिएको छैन’, प्रवक्ता निरौलाले भने, ‘अनुमति नपाउँदासम्म आन्तरिक उडान मात्रै हुन्छ।’
बुद्ध एयरका सेल्स एन्ड ग्राउन्ड हेन्डलिङ प्रमुख रुपेश जोशीले भारतमा जनवरी १ तारिखबाटै उडान गर्ने प्रस्ताव राखेको बताए।
‘एक हप्ताअघि जनवरी १ तारिखमा एउटा उडान गर्न दिन भनेका छौँ’, जोशीले भने, ‘त्यसपछि नियमित ५ उडान गर्ने प्रस्ताव गरेका छौँ।’
करिब २२ अर्ब रुपैयाँ लागतमा विमानस्थल तयार भएको हो।
Shares

प्रतिक्रिया