कारोबार


मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

मेलम्चीको पाइप फुट्दा मंगलबार जलमग्न काठमाडौँको सडक


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १८:१०, काठमाडौँ

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ। 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो। जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन। आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले राससलाई जानकारी दिए। 

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म आठवटामा पानी पुगिसकेको छ। हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाङ्कालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ। कीर्तिपुर र बाँसबारीका ट्याङ्कीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए। चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ। 

मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिए। सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ। कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ। त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयूकेएलले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad