कारोबार


तरकारीको बीउबारे छलफल गर्न सार्कस्तरीय बैठक

तरकारीको बीउबारे छलफल गर्न सार्कस्तरीय बैठक

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:५८,

सार्क राष्ट्रमा उच्च मूल्य शृंखलामा जाने तरकारी बीउको विकास गर्ने लक्ष्यसहित आजदेखि पोखरामा तीन दिनको सार्कस्तरीय क्षेत्रीय परामर्श बैठक शुरु भएको छ। सार्क एग्रीकल्चर सेन्टर बंगलादेश र गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सुरु बैठकमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भूटान, भारत र श्रीलंका गरी छ राष्ट्रका प्रतिनिधि सहभागी छन्। परामर्श बैठक यही पुस ८ गतेसम्म चल्नेछ।

सार्क सदस्य राष्ट्रमा तरकारी बीउ उत्पादन, वितरण तथा व्यवसायीकरणमा समानता रहेको अवस्थामा सार्क क्षेत्रभरि तरकारी बाली अनुसन्धान, विकास र प्रसारमा राष्ट्रबीच आपसी समन्वय र सहकार्यमार्फत सहयोग आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्छ। उच्च मूल्यमा जाने तरकारी बीउ ग्रामीण साना किसानदेखि लिएर तरकारी उत्पादन हुने ठूला क्षेत्रसम्म जोड्दै रोजगारी सिर्जना गर्दै गरीबी निवारणका लागि उच्च मूल्य शृंखलाको बीउ विकासको आवश्यकताका बारेमा छलफल हुनेछ।

त्यसैगरी सानादेखि व्यावसायिक कृषक तथा सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी निकाय र यसको मूल्य शृंखला प्रणालीमा सम्बद्ध उत्पादक, प्रशोधनकर्ता र बिक्रेता सबैको सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको बताइन्छ। कार्यक्रममा सहभागी सबै देशबाट तरकारी बीउ उत्पादनसम्बन्धी आ–आफ्नो देशको राष्ट्रियस्थिति पत्र प्रस्तुत हुनेछ भने सार्क सदस्य राष्ट्रका सरकारी तथा गैरसरकारी र निजी क्षेत्रबाट सञ्चालन गर्नुपर्ने कार्यका बारेमा छलफल गरेर निष्कर्ष निकालिने योजना छ।

बैठकको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बीउविजन जस्तो संवेदनशील विषयमा सार्क राष्ट्रका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी निकाय तथा निजी क्षेत्र लगायतको छलफल हुनु महत्वपूर्ण भएको बताए। बालीका नयाँ जात तथा गुणस्तरीय बीउ कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षामा दिगो सुधारका लागि अत्यावश्यक रहेको चर्चा गर्दै उनले गण्डकीमा हिमालदेखि तराईसम्म हावापानीको विविधता रहेका कारणले स्थान विशेषमा बढी उत्पादन दिने प्रतिस्पर्धात्मक बालीका जात वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

बीउको जातीय विकास, बीउ वृद्धि प्रशोधन तथा तयारी, बजारीकरण उपयोग र अनुगमन तथा नियमनका लागि छलफल तथा अन्तरक्रिया उपयोगी हुने विश्वास उनको छ। सार्क एग्रीकल्चर सेन्टरका निर्देशक डा एसएम बोख्तियारले दक्षिण एशियाली राष्ट्रको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको ठूलो हिस्सा रहेको र अर्थतन्त्र कृषिमा आधारित रहेकाले गुणस्तरीय उच्च मूल्य जाने बीउ विकास आवश्यक रहेको बताए।

सार्क क्षेत्रमा उच्च मूल्य जाने तरकारी बीउ उत्पादन तथा वितरण प्रणालीलाई सवलीकरणका लागिसमेत कार्यक्रम महत्वपूर्ण हुने विश्वास उनको थियो। मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले प्रदेशमा गुणस्तरीय बीउबिजन उत्पादन, प्रशोधन, विकास र बजारीकरणका लागि बीउबिजन प्रयोगशाला स्थापना गरिएको जाकारी दिँदै प्रतिस्पर्धात्मक बीउका माध्यमबाट उत्पादन वृद्धि गर्ने योजना रहेको उल्लेख गरे। सेन्टरका वरिष्ठ कार्यक्रम विशेषज्ञ डा नासरिन सुल्टाना तथा मन्त्रालयका योजना अनुगमन प्रमुख डा ग्रीष्म न्यौपाने लगायतले परामर्श बैठकका बारेमा भनाइ राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad