कारोबार


‘मौद्रिक नीति समीक्षाले पर्यटन व्यवसायीलाई हतोत्साहित बनायो’

‘मौद्रिक नीति समीक्षाले पर्यटन व्यवसायीलाई हतोत्साहित बनायो’

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १७:५, काठमाडौँ

राष्ट्र बैंकले आइतबार गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाप्रति होटल संघ नेपाल (हान)ले चिन्ता जनाएको छ। 

हानले विज्ञप्तिमार्फत पर्यटन व्यवसायीलाई मौद्रिक समीक्षाले हतोत्साहित बनाएको बताएको हो। 

‘आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीहरुलाई थप हतोत्साहित बनाएको छ’, हानले भनेको छ, ‘कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसायी बैंकको सावाँ ब्याज भुक्तानीका लागि चरम ताकेता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भए पनि होटल व्यवसायीहरुको न्यूनतम मागहरु समेत पूरा हुन नसकेको प्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।’

हानले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालाहरुसँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेको र यसखालका प्रयत्न जारी राखेको जनाएको छ। 

विशेषतः होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने सावाँ र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समयसीमाभित्र बुझाउन नसकेकोले यसका लागि समयावधि बढाउने सम्बन्धमा सहजीकरण गरिदिन, अत्यधिक वृद्धि भएको ब्याजदर घटाई होटल सञ्चालन गर्नका लागि पुनर्तालिकीकरण तथा पुनर्कर्जा व्यवस्थापनमा व्यावहारिक र सहज स्पष्टतासहितको व्यवस्था गर्न आग्रह गरिए पनि यस समीक्षाले कुनै  पनि किसिमको सम्बोधन नगरेको हानको भनाइ छ। यसले होटल व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको उसले बताएको छ।

मुलकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई गणितीय तथ्यांकका रुपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मुख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज नगरी होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउँदै अब आउने सरकारी नेतृत्वले होटल व्यवसायीका माग सम्बोधन गर्नुपर्नेमा हानले जोड दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad