कारोबार


नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भयो बीमा समिति

नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भयो बीमा समिति

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १३:३८, काठमाडौँ

नेपाल बीमा समिति आजदेखि औपचारिक रुपमा नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ। 

मंगलबार कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरूवात गरेका हुन्। 

नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। 

गत भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो। 

राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानूनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए। 

उनले नयाँ बीमा ऐनले बीमा ऐन २०४९ ले पूरा गर्न नसकेको कामलाई पूरा गर्नसक्ने बताए। अध्यक्ष सिलवालले बीमाको बजार,जोखिमको मात्रा र बीमा कारोबारका प्रवृत्तिहरु बढ्दै गएकाले अबको बीमा बजार बीमा ऐन २०४९ ले धान्ने बजार नभएको बताए। 

उनले आर्थिक रुपले सुरक्षा प्राधान गर्ने बीमा भएकाले नयाँ बीमा ऐनले आर्थिक सुरक्षा गर्नको लागि धेरै नयाँ माध्यमहरु दिएको बताए। 

अध्यक्ष सिलवालले सरकारलाई बीमाका विषयमा बीमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको बताए। अध्यक्ष सिलवालले अब बीमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिंगो बीमा क्षेत्रको नियमन गरिने बताए। 

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा धेरै समस्या रहेकाले सरकारले बीमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको बताए। 

उनले बीमा समितिबाट मर्जरको लागि स्वीकृत पाएका कम्पनीहरुले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताए। 

आजबाट बीमा समितिले गर्ने सबै काम कारवाहीहरु बीमा प्राधिकरणको नामबाट हुनेछ। 

यसअघि बीमा समितिले गरेको काम कारवाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .