कारोबार


उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो

उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ७:२७, काठमाडौँ

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका १ सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले साेमबार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ। 

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले साेमबार अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली लगेको हो।

उनका अनुसार २ सय ४७ मध्ये बाँकी रहेका १ सय ५० जना यात्रुलाई निगमले आफ्नै उडान र अरू वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली लगेको हो। केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साेमबार निगमको काठमाडौँ–दिल्ली दुईवटा उडानको तालिका थियो। नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको थियो।

प्राधिकरणले आफूले दिएको निर्देशन निगमले पालना नगरेको भन्दै आइतबार बिहान दिल्लीतर्फको उडान रद्द गर्दा विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए। काठमाडौँ–दिल्ली आइतबारको १:४५ बजेको उडान रद्द भएको थियो। यसबाट २ सय ४७ जनामध्ये १ सयजना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .