कारोबार


महिलाको आयआर्जनको माध्यम बन्यो ‘होमस्टे’

महिलाको आयआर्जनको माध्यम बन्यो ‘होमस्टे’

डम्मर बुढा मगर
कात्तिक ५, २०७९ शनिबार ७:२३, ढोरपाटन

चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे। घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे। घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गरिरहेका महिलाहरुको दिनचर्या अहिले पूरै फेरिएको छ। उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ। काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होमस्टे) सञ्चालन गरे।

घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नाका साथै दिनचर्या र जनजीवनसमेत परिवर्तन भएको छ। सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो। नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफैँ गर्छन्। खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत भइरहेको छ। 

घरबास सञ्चालक माया पुन घर्ती भन्छिन् - ‘होमस्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलोचौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरुसुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ।’

उनले घरबासलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताइन्। घरबास आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उनको भनाइ छ।

पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न  आफूहरु जुटिरहेको घर्ती बताउँछिन्। 

‘होमस्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ’, घर्तीले भनिन्, ‘होमस्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ।’

स्थानीय पुष्पा छन्त्यालले घरबासले महिलाको दिनचर्या र जीवनशैलीमा परिवर्तन ल्याएको बताइन्। उनले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गरिन्। 

घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘पहिले हाम्रो दिनचर्या घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गर्थ्याे, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ।’

छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा परिवर्तन भएको बताइन्। उनले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीतसङ्गीत र नाचले मनोरञ्जन दिन आफूहरु निरन्तर लागिपरेको बताइन्। 

‘हाम्रा लागि होमस्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन्, केही कमीकमजोरी पाहुनाहरुले पनि औँल्याइदिनुहुन्छ, सुधार गरिरहेका छौँ’, छन्त्यालले भने, ‘पाहुनाले हामीबाट केही नयाँ कुरा सिक्नुहुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले यहाँ धेरै परिवर्तन हुँदै गएको छ।’

गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होमस्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताए। पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताए। 

‘हाम्रो उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो, चार वर्षमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ, होमस्टे राम्रै चलेको छ’, अध्यक्ष श्रीसले भने, ‘पहिले उहाँहरु राम्रोसँग बोल्न सक्नु हुँदैनथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फर्वाड’ हुनुभएको छ।’

गाउँको १२ घरमा घरबास सञ्चालनमा छ। हामेस्टे सञ्चालन गर्न हालसम्म १८ लाख अनुदान प्राप्त भएको छ। गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरिएको छ।

‘पाहुनाहरुको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा बर्खाभरि गाडी चल्दैनन्, त्यसले गर्दा पाहुना भित्र्याउन सकिएन, यस वर्षको बर्खामा दुईजना विदेशी पर्यटकलाई १० दिन राखियो, अरू बाटोका कारण आउन सक्नु भएन’, उनले भने, ‘बाटो राम्रो भएको बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो।’ 

उनले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउँछन्। होमस्टे सञ्चालकले पाहुनालाई मनोरञ्जन दिन मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ।

होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उनको भनाइ छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad