अविरल वर्षाले प्रदेश पाँचमा करोडौं रुपैयाँ बराबरको काँचो ईंटा नस्ट भएको छ।
शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले प्रदेशका विभिन्न जिल्लामा गरी ८६ करोड ६८ लाख रुपैयाँ बराबरको पकाउन तयार पारिएको काँचो ईंटा नस्ट भएको हो।
प्रदेश ५ ईंटा उद्योग व्यवसायी संघका अनुसार १८ कारोड २५ लाख बढी काँचो ईंटा नस्ट हुँदा यति धेरै क्षति भएको हो।
‘ईंटा बनाएर भट्टामा पकाउनका लागि तयारी अवस्थामा राखेका थियौं, तर एक्कासी बेमौसमी वर्षा हुँदा सबै ईंटा कामै नलाग्ने गरी नस्ट भयो’, संघका प्रदेश अध्यक्ष थानेश्वर घिमिरेले भने, ‘वर्षाले उद्योगी व्यवसायीको ढाडै सेकेको छ । हामी अत्यन्तै मर्कामा पर्यौं।’
प्रदेशमा डेढ सय हाराहारी ईंटा उद्योगहरु छन् । ती सबै उद्योगले भट्टामा पकाउनका लागि तयार पारेका काँचो ईंटा वर्षात्का कारण नस्ट भएको हो।
लुम्बिनी ईंटा उद्योग व्यवसायी संघकाअनुसार रुपन्देहीमा मात्रै १६ करोड ६२ लाख मूल्य बराबरको काँचो ईंटा नस्ट भएको छ।
‘रुपन्देहीमा रहेका ५२ वटै ईंटा उद्योगमा पकाउन तयार पारिएको काँचो ईंटा नस्ट भएको छ । प्रत्येक वर्ष व्यवसायीले करोडौं क्षति व्यहोर्नु परेको छ’, संघका महासचिव अजयकुमार गुप्ताले भने । अघिल्लो वर्ष पनि रुपन्देहीमा मात्रै करिब १५ करोड मूल्यको काँचो ईंटा बेमौसमी वर्षाले क्षति पुर्याएको थियो।
‘यो हरेक वर्षको समस्या हो । यस समस्यालाई मध्यनजर गरेर हामी पटक–पटक सरकारसँग र्इंटा ब्यवसायलाई पनि इन्स्योरेन्स गर्न माग गरेका छौं। सरकारले सुन्दैन । यसले गर्दा पनि हामीलाई हरेक वर्ष समस्या परिरहेको छ’, गुप्ताले भने।
प्रदेश ५ को नवलपरासी पश्चिमा २ करोड, नवलपरासी पूर्व २ करोड, रुपन्देहीमा ३ करोड ५० लाख, कपिलवस्तुमा ३ करोड, दाङमा २ करोड २५ लाख, बाँकेमा ३ करोड, बर्दियामा २ करोड ५० लाख गरी १८ करोड २५ लाख काँचो ईंटाहरु नष्ट भएको संघले जनाएको छ।
व्यवसायीले पकाउन तयार पारिएको ईंटा नष्ट भएपछि माटो र भस्कटमा तिर्नुपर्ने रोयल्टी छुट गर्न सरकारसँग माग गरेका छन् । ईंटा उद्योगी व्यवसायीले विज्ञप्ती जारी गर्दै संघ सरकार र प्रदेश सरकारसँग रोयल्टी छुटको माग गरेका हुन्।
‘व्यवसायीलाई यति ठूलो बज्रपात परेको छ । यस्तो अवस्थामा सरकारबाट अपेक्षा गर्नु स्वभाविकै हो । अन्य समयमा सरकारले तोकेको सबै किसिमका कर तिरेका छौं । हामीलाई दुःख पर्दा सरकारले हेर्छ भन्ने अपेक्षा छ’, प्रदेश अध्यक्ष घिमिरेले भने।
काँचो ईंटा बनाउने काम खुल्ला आकाश मुनी हुने भएकाले पनि उद्योगी–व्यवसायीले प्रत्येक वर्ष लाखौंको क्षति व्यहोर्दै आएका छन् । ‘एक त ६ महिना मात्रै ईंटा उत्पादन गर्छौ, त्यसैमा मौसमको समयमा बेमौसमी वर्षा हुँदा सधैं क्षति व्यहोर्नु परेको छ’, महासचिव गुप्ताले भने । ईंटा उत्पादनको काम हिउँदमा मात्रै हुने गर्छ।
वर्षात्को ६ महिना ठप्प हुन्छ । हिउँदे वर्षाले प्रत्येक वर्ष यसैगरी क्षति पुर्याउँदा व्यवसायीले करोडौं क्षति ब्यहोर्छन्।
पकाउन तयार पारिएको काँचो ईंटा नष्ट भएपछि त्यसलाई पुनःप्रयोगमा ल्याउन मिल्दैन । पछिल्लो समय माटो र भस्टक पाउनै मुस्किल परिरहेका बेला काँचो ईंटामा भएको क्षतिले यस क्षेत्रको विकास निर्माणमा ईंटा अपुग हुनसक्ने आँकलन समेत गरिएको छ।

प्रतिक्रिया