दोलखाबाट भक्तपुरतर्फ आउँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। १८ यात्रु घाइते भएका छन्।
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको रिजर्भ बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ६ किलो भन्ने स्थानबाट खसेको हो। यो स्थान सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ मा पर्छ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश खनालका अनुसार दुर्घटनास्थलमा १४ जना मृत भेटिएका छन्।जसमा ८ महिला, ४ पुरुष, १ बालक र १ बालिका छन्। तर सनाखत हुन बाँकी छ।
यसैगरी दुर्घटनामा १८ जना घाइते भएका छन्। तीमध्ये ८ जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये १० जनालाई उपचारका लागि सिन्धु बहार अस्पताल (सिन्धुपाल्चाेक खाडीचौर) लगिएकामा गम्भीर अवस्थाका ८ जनालाई काठमाडौं रिफर गरिएको प्रहरी निरीक्षक खनालले टेलिफोनमा नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि भक्तपुरबाट रिजर्भ गरेर लगिएको बस फर्किंदै गर्दा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो। बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ। बस उत्तानो परेर कच्याकुचुक भएको छ (माथि तस्बिर हेर्नुस्)।

प्रतिक्रिया