कारोबार


दीगो पर्यटन विकासको लागि पर्यटन दशक आवश्यक : मन्त्री श्रेष्ठ

दीगो पर्यटन विकासको लागि पर्यटन दशक आवश्यक : मन्त्री श्रेष्ठ

नेपालखबर
भदौ २६, २०७९ आइतबार २०:२३, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको दीगो पर्यटन विकासको लागि सरकारले ‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणा अगाडि ल्याएको बताएका छन्।

पर्यटन दशक २०२३–२०३२ को अवधारणाका विषयमा नेपाल पर्यटन बोर्डको समन्वयमा सरोकारवालाहरुसँग आइतवार आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न यो अवधारणा अघि सारिएको बताए।

उनले पर्यटन विकासको लागि सरकारले नीतिगत सुधार तथा अन्य सहजीकरणको काम गर्न बताउँदै यसको समग्र विकासको लागि भने निजी क्षेत्र अग्रसर हुनु पर्ने धारणा राखे। यस्तै उनले नेपाललाई युरोपियन युनियनको सेफ्टिलिस्टबाट ‘कालो सूची’ हटाउन मन्त्रालयले पहल गरिरहेको र यसबारे छिट्टै सकारात्मक नतिजा आउनेमा आफू आशावादी रहेको समेत बताए।

कार्यक्रममा पर्यटन दशकको अवधारणा पत्र प्रस्तुत गर्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालले दीगो रुपमा विदेशी मुद्राआर्जन गर्न सक्ने क्षेत्र पर्यटन भएकोले यसबाट लाभ लिन यो अवधारणा अगाढि बढाइएको जानकारी दिए। उनले सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने लक्ष्य रहेको समेत बताए। 

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड पछि पर्यटनमा थुप्रै समस्या देखिए पनि एक अर्कोसँग समन्वय गर्दै अगाडि बढ्न सके पर्यटनबाट नेपालले लाभ लिन सक्ने र यो अवधारणालाई समेत मूर्त रुप दिन सकिने बताए। पूर्व सभासद छायाँ शर्माले पर्यटनका विषयमा नीतिगत छलफल गर्न र यसलाई राज्यको प्राथमिकतामा पार्न पर्यटनसँग सम्बन्धित छुट्टै संसदीय समिति आवश्यक रहेको बताए। 

पर्यटन क्षेत्रका छाता संस्था, वरिष्ठ पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरुले पर्यटन दशकको अवधारणा सकारात्मक रहेको तर सफलताको लागि यसको कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए। 

कार्यक्रममा प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) इन्टरनेशनलका सचिव तथा कोषाध्यक्ष सुमन पाण्डे, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यद्वय दीपक महत र गणेश सिंखडा, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाई, नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोला, पर्यटन व्यवसायी विक्रम पांडे, अशोक पोखरेल लगायतका व्यक्तिहरुले पर्यटन दशकका रुपमा काम गर्दा सरकार र निजी क्षेत्रको भूमिकालाई स्पष्ट पार्दै ठोस कार्य योजना ल्याउन सुझाव दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad