ad ad

कारोबार


सिमेन्ट गुणस्तरबारे तत्कालीन उद्याेगमन्त्रीकाे विवादास्पद निर्णयमाथि छानबिन

सिमेन्ट गुणस्तरबारे तत्कालीन उद्याेगमन्त्रीकाे विवादास्पद निर्णयमाथि छानबिन

नेपालखबर
मंसिर २५, २०७६ बुधबार १०:१९,

विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन्।

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोकर्णबहादुर मोत्राले नेपालमा पाइने ९० प्रतिशतभन्दा बढी चुनढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ (म्याग्नेसियम अक्साइड) पाइने र सिमेन्ट बनाउने क्रममा १ दशमलव ६ प्रतिशत बढ्ने बताए। यो पदार्थ सिमेन्टमा घुल्न नसक्ने भएकाले नेपालको भौगोलिक अवस्थालाई हेरेर पनि यसको मात्रा ५ प्रतिशतभन्दा बढी बनाउन नहुने उनले बताए।

त्यस्तै सहप्राध्यापक लुतनप्रसाद भट्टराईले म्याग्नेसियमको मात्रा ५ बाट ६ प्रतिशत पुर्‍याउँदा ५/१० वर्षमा नै संरचनाहरु फुट्ने र भत्किने खतरा रहने बताए। उनले म्याग्नेसियमको मात्रा बढाउनैपर्ने भए सिमेन्टको प्रयोग कुन संरचनामा गर्न मिल्छ खुलाउनुपर्ने बताए।

तत्कालीन उद्योगमन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को गत असार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (म्याग्नेसियम अक्साइड)को मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो। त्यस्तै अर्को अघुलनशील पदार्थ (आईआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याइएको थियो।

परिषदले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको हो। छलफलमा विज्ञहरुले म्याग्नेसियमको मात्रा जति कम भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो हुने भन्दै पुरानै व्यवस्था कायम गर्न सुझाव दिएका छन्।

त्यस्तै सांसदहरुले उद्योगीहरुको दबाबका कारण सिमेन्टको गुणस्तर घट्ने गरी कच्चापदार्थको परिमाणमा परिवर्तन गरिएको हुनसक्ने भन्दै त्यसलाई पुरानै अवस्थामा कायम गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .