कारोबार


अमेरिकी ‘भिसा कार्ड’ छोडेर चिनियाँ ‘यूपीआई कार्ड’ प्रयोग गर्दै प्रभु बैंक

अमेरिकी ‘भिसा कार्ड’ छोडेर चिनियाँ ‘यूपीआई कार्ड’ प्रयोग गर्दै प्रभु बैंक

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार १२:३१,

प्रभु बैंक लिमिटेड अमेरिकाको भिसाकार्ड प्रणालीबाट बाहिरिने भएको छ। नेपालका अधिकांश बैंकहरु भिसासँग आबद्ध रहेको अवस्थामा प्रभु बैंकले भने यसको प्रणाली छोड्नलागेको हो।

आगामी माघदेखि अमेरिकी प्रणाली छोडेर बैंकले चिनियाँ युनियन पेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)सँग आबद्ध हुनलागेको हो। कम्पनीले माघ १ गतेदेखि नै युनियन पेसँगको सहकार्य गर्ने गरी आफ्ना ग्राहकलाई समेत जानकारी गराइसकेको छ। बैंकले भिसाकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई नयाँ युपीआई कार्ड लिन भनिसकेको छ।

तर भिसा कार्ड अहिले नै नचल्ने गरी हटाउन नखोजेको प्रभु बैंकले स्पष्ट पारेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भिसाकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई नयाँ सिस्टममा पूर्णरुपले लैजाने गरी काम भरहेको जानकारी दिँदै अहिले नै भिसासँगको सहकार्यलाई तोड्ने निर्णय नै भने नभएको बताए।

उनले नेपालखबरसँग भने, ‘विश्वमा विभिन्न सिस्टमहरु रहेका छन्, युनियन पेमा पनि राम्रो सिस्टम रहेको छ, त्यसमा आबद्धता पनि रहेकोले उसकै कार्ड प्रयोग गर्न लागिएको हो।’

नेपालमा बढी प्रचलनमा रहेको भिसा एटीएम कार्ड सञ्चालनको दुईवटा प्रणाली रहेको छ। भिसा प्रणाली अमेरिकाबाट सञ्चालन हुने गर्छ। नेपाली बैंकहरु केहीले सिधै अमेरिकामा रहेको भिसाबाट स्वीकृत लिई आफ्नो बैंकमा सोही किसिमको प्रणाली बनाएर कार्ड प्रयोग गरेका छन्। तर केही बैंक भने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) मा आबद्ध रहेका छन्। नेप्सले नै भिसासँग सम्पर्क गराएर बैंकहरुको एटीएम प्रणाली सञ्चालन गराउँछ।

नेप्समा आबद्ध भएका वाणिज्य बैंकहरुमा प्रभु बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया, बैंक अफ काठमाडौं लिमिटेड, प्राइम बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक रहेका छन्।

त्यस्तै विकास बैंकहरुमा देव विकास बैंक, ज्योति विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक रहेका छन्। यीभन्दा बाहेक अरु बैंकले अमेरिकामा रहेको भिसा प्रणालीबाट सिधै अनुमति लिएर आफ्नो एटीएम सिस्टम सञ्चालन गरिरहेका छन्।

नेप्सका प्रविन प्रकाश क्षेत्रीले नेपालखबरसँग कुरा गर्दै अहिले नेप्समा आबद्ध भएकामध्ये जनता बैंक ग्लोबलसँग मर्ज भए पनि उनीहरु एकै भएर नेप्समा आबद्ध भइसकेको बताए। उनले भने, ‘तर प्रभु बैंकले भने नेप्सको यो सिस्टमबाट बाहिरिनको लागि प्रक्रिया समेत थालनी गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad