कारोबार


‘हवाइजहाज आकाशमै होल्ड भएजस्तै हो, केबलकार पनि कहिलेकाहीँ रोकिन्छ’

‘हवाइजहाज आकाशमै होल्ड भएजस्तै हो, केबलकार पनि कहिलेकाहीँ रोकिन्छ’

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल केबलकारबारे जानकारी दिँदै। तस्बिर : रासस


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १७:४४, काठमाडौँ

चन्द्रागिरि हिल्सले केबलकार रोकिँदैमा आत्तिनु नपर्ने बताएको छ। 

पछिल्लो समय २ पटक केबलकार रोकिएपछि आपत्काल सेवा भएकाले आत्तिनु नपर्ने बताएको हो। 

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले केबलकार ३ किसिमले चल्ने भएकाले सर्वसाधारण आत्तिनु नपर्ने बताएका छन्। 

‘केबलकार स्वचालित प्रविधिमा ३ तरिकाबाट सञ्चालन गर्न सकिन्छ’, ढकालले भने, ‘नियमित रुपमा बिजुलीबाट चल्छ। बिजुली जाँदा १ मेगावाट बराबरको जेनेरेटर रहेको छ। जेनेरेटर पनि बिग्रिएको अवस्थामा इमर्जेन्सी ड्राइभबाट बीचमा रोकिएका यात्रुलाई झार्न सकिन्छ।’

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाल। तस्बिर : रासस

चन्द्रागिरिमा नियमित सञ्चालन हुने र ब्याकअपमा रहने गरी जेनेरेटर रहेका छन्। ढकालले विद्युतबाट सञ्चालन भइरहेको केबलकार रोकिएमा बढीमा ५ मिनेटमा जेनेरेटर चल्ने बताए। 

केबलकार सञ्चालनको लागि एकै पटक धेरै पावर आवश्यक पर्ने भएकाले जेनेरेटर अटोमेटिक छैनन्। विद्युत् गएपछि कर्मचारीले चलाउँदा बढीमा ५ मिनेट रोकिनुपर्ने कम्पनीले जनाएको छ। 

पावर सप्लाईको कारण धेरै समय कुर्नुपर्दैन। तर अरु इलेक्ट्रिक वा मेकानिकल कारणले केबलकार रोकिएमा ४० देखि ५० मिनेट यात्रु ओराल्न लाग्छ। 

‘विद्युत पनि गयो। जेनेरेटर पनि चलेन वा अरु कारणले केबलकार चल्न सकेन भने पनि विकल्प छ’, ढकालले भने, ‘इमर्जेन्सी ड्राइभबाट पावर सप्लाई नभएको समयमा यात्रुलाई झार्न सकिन्छ।’

केही दिनअघि चन्द्रागिरि केबलकारमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना रोकिएका थिए। त्यसबाहेक ४०० बढी सर्वसाधारण माथि रोकिएको सञ्चारमाध्यममा समाचार आएपछि चन्द्रागिरिको प्रविधिप्रति गुनासो बढेको थियो। 

 ‘प्रविधिहरुमा कहिलेकाहीँ समस्या हुन्छ। केही समय रोकिन सक्छ’, ढकालले भने, ‘कहिलेकाहीँ आकाशमा जहाज होल्ड भएजस्तै हो। समस्या समाधान भएपछि सुरक्षित अवतरण गराउँछौँ।’

चन्द्रागिरि हिल्सले डोपेलमायर कम्पनीको प्रविधि प्रयोग गरिरहेको छ। कम्पनीका अनुसार विश्वका ५० बढी देशमा यसका केबलकार सञ्चालनमा छन्। 

‘विश्वमा २० हजार डोपोलमायरका केबलकार जडान गरिएको छ। नेपालमा कुनै ठूलो समस्या आउने भनेको विश्वभरको लागि इस्यु हो’, उनले भने, ‘सामान्य समस्या हरेक प्रविधिमा देखिन्छ। सर्वसाधारणलाई सुरक्षित बनाउनु हाम्रो जिम्मेवारी हो। केही समय रोकिँदाँ धेरै हल्लाखल्ला गर्नु आवश्यक हुँदैन।’

चन्द्रागिरिमा केवलकार चढ्न आतुर मानिसहरु। तस्बिर : रासस

 
कम्पनीले दैनिक केबलकार सञ्चालनअघि इलेक्ट्रिक र मेकानिकल कुरा हेरेर मात्रै सञ्चालन गर्ने बताएको छ। 

‘कहिलेकाहीँ केबलकार बिग्रियो। तारमा भएकालाई झा¥यौँ। टुप्पोमा भएकालाई सुरक्षित राख्ने पनि विकल्प छन्’, ढकालले भन्छन्, ‘टुप्पोमा गाडी आउन सक्ने भएकाले गाडीको माध्यमबाट तल झार्न सक्छौँ। त्यो पनि सकेनौँ भने हाम्रो रिसोर्ट रहेको छ। आफ्नै खर्चमा राख्छौँ यात्रु डराउनुपर्ने अवस्था नै छैन।’

कम्पनीका संस्थापक सञ्चालक अम्बिका पौडेलले प्रविधिमा कहिलेकाहीँ समस्या आउन सक्छ तर त्यसलाई ठूलो बनाउन जरुरी नभएको बताए। 

केबलकारमा एकैछिन रोकिएर सर्वसाधारणलाई कुनै अप्ठ्यारो परे प्राविधिक सहायताले यात्रुलाई झार्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .