ad ad

कारोबार


आर्थिक वर्ष सकिनै लाग्दा सीडी रेसियोमा सुधार, एकै दिन थपियो ५ अर्ब निक्षेप

आर्थिक वर्ष सकिनै लाग्दा सीडी रेसियोमा सुधार, एकै दिन थपियो ५ अर्ब निक्षेप

नेपालखबर
असार १३, २०७९ सोमबार १९:१, काठमाडौँ

चालू आर्थिक वर्ष सकिनै लाग्दा सीडी रेसियो अर्थात् कर्जा र निक्षेपको अनुपातमा सुधार आएको छ। 

सबै बैंकहरुको समग्र सीडी रेसियो ९० प्रतिशतभन्दा कम देखिएको हो। 

बैंकहरुले चालू आर्थिक वर्षको अन्त्यमा ९० प्रतिशत सीडी रेसियो कम गर्नुपर्ने बाध्यता छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत निक्षेप र कर्जाको अनुपात हुनुपर्ने व्यवस्था गरेको छ। 

जुन व्यवस्थाको कारणले बैंक तथा वित्तीय कमपनीमा चाप परेको गुनासो आएपछि  नेपाल राष्ट्र बैंकले आफ्नो पहिलो त्रैमासिक समीक्षामार्फत असार मसान्तसम्मलाई छुट दिएको थियो। 

तर त्यसको लागि बैंक सञ्चालक समितिले निर्णय गरेर सो जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने उल्लेख थियो। 

यस सुविधाको प्रयोग सबै वाणिज्य बैंकहरुले गरेका थिए। प्राइम कमर्सियल लगायतका बैंकहरुले ९९ प्रतिशतसम्म सीडी रेसियो कायम गरेका थिए। तर अहिले भने सुधार भएको देखिएको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार समग्र बैंकहरुको औसत सीडी रेसियो ८९ दशमलव २६ प्रतिशत छ। 

यसरी सुधार हुनुमा बैंकहरुमा पछिल्लो समय निक्षेप बढिरहनु प्रमुख कारण रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। 

राष्ट्र बैंकका अनुसार गत शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा आइतबार एकै दिन ५ अर्ब थपिएको हो। 

आइतबारसम्ममा ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको हो। आइतबार कर्जा प्रवाह भने शनिबारसम्म ४७ खर्ब ६ अर्ब रहकोमा आइतबारसम्ममा ४७ खर्ब ५ अर्ब कायम भएको छ। 

वाणिज्य बैंकहरुको अहिलेसम्मको निक्षेप ४४ खर्ब १ अर्ब रहेकोमा कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको देखिएको हो। 

कुन क्षेत्रमा भइरहेको छ कर्जा प्रवाह?
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २३.८ प्रतिशतले बढेको थियो। 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको छ। 

२०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो। 

आर्थिक वर्ष २०७८÷७९ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १८.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७.७ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १५.८ प्रतिशतले र हायर पर्चेज कर्जा ३.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ५२.५ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा १४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .