ad ad

राजनीति


देशभरका स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान

एउटै मञ्चमा देखिए सुमन सायमी र हरिशरण लामिछाने
देशभरका स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान

नेपालखबर
असार १३, २०७९ सोमबार १८:२९, काठमाडौँ

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सञ्जालले आगामी असार १८ गते काठमाडौंमा हुने राष्ट्रिय भेलामा सहभागिता जनाउन देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गर्दै असार १८ गते स्वतन्त्र उम्मेदवारहरुको विशेष भेला गर्न लागिएको जानकारी दिइएको हो । राष्ट्रिय भेलालाई ‘संयुक्त विशेष भेला’ को नाम दिइएको र उक्त विशेष भेलाले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने अभियन्ताहरुले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार एवं अभियानकर्ता सुमन सायमीले गत स्थानीय चुनावमा अधिकारका लागि आवाज उठाउने क्रममा आफू स्वतन्त्रको उम्मेदवार बनेको बताए  । उनले १३ हजार बढी सम्मानजनक मत पाएको बताए ।

आगामी १८ गते राष्ट्रिय भेलामार्फत मंसिरमा हुने प्रदेश र संघको चुनावमा कसरी अघि बढ्ने भनेर देशव्यापी स्वतन्त्र उम्मेदवारहरुलाई बोलाएर छलफल गर्न लागेको सायमीले जानकारी दिए ।

तर, विचार र सिद्धान्त नभई अघि बढ्न नसकिने सायमीको भनाइ छ । स्वतन्त्रहरुको राष्ट्रिय भेलाको निर्णयअनुसार अघि बढ्ने स्पष्ट पार्दै सायमीले गत स्थानीय निर्वाचनमा स्वतन्त्रले जितेपछि राजनीतिक दलहरु सचेत भइसकेको बताए ।

कार्यक्रममा सहभागी हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतिलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफु प्रभावित भएको लामिछानेले सुनाए ।

सञ्चारकर्मी रहेका हरिशरण राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछानेका दाजु हुन् । भाइको पार्टीमा समाहित नभई स्वतन्त्र अभियानमा लागेका हरिशरणले जो कोहीलाई पार्टी खोलेर राजनीतिमा जाने स्वतन्त्रता भए पनि त्यसमा अझै केही कमी देखेर नै आफू स्वतन्त्र भावनाबाट एकत्रित हुन खोजेको बताए ।

लामिछानेले भने, ‘समाजमा पिछडिएका वर्ग एवं वृद्धावृद्धाको आवाज उठाउने, बलात्कारको विरोध र समाज रुपान्तरणमा अहम भुमिका खेल्ने तर पर्दा पछाडि रहेका व्यक्तिहरुलाई आकर्षित गर्नका लागि आज स्वतन्त्रको आवश्यकता छ ।’

अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष,निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहिलाई सही र गलतलाई गलत भन्ने देशभरिको जमातलाई स्वतन्त्रका रुपमा हेरिने बताए ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङसहित ३८५ जना जनप्रतिनिधि निर्वाचित भएसँगै अबको स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारमात्र जान पर्ने नीति स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, पर्वतारोही तथा स्वतन्त्र अभियानकर्मी माया गुरुङले आफू अब गाउँ बनाउनतिर लागेको बताइन् । स्वतन्त्र हिसाबले गत स्थानीय तहको चुनावमा उम्मेदवारी दिएको उनले जानकारी दिइन् ।

उनले भनिन्,‘राणा शासनबाट प्रजातन्त्र र प्रजातन्त्रबाट आज लोकतन्त्र आए पनि पार्टीहरुको दास भएको महसुस भएर स्वतन्त्र हुन खोजियो ।’

अर्का अभियानकर्ता दिनेश खनालले राजनीतिक दलको झुटो वचन र कर्म फरक भएकाले स्वतन्त्र ढंगले आफ्नो समूह अघि बढेको बताए । गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेको उनले जानकारी दिए ।

खनालले भने, ‘पार्टीगत रुपमा झुटा मुद्दालाई हेरेर नेपाली जनतालाई भोट हाल्न नलगाउने भनेर बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं । अब संसदमा सुमन सायमीलाई पुर्याउन सहयोग गर्छौैं, उहाँले जनताको आवाज संसदमा पुर्याउनुहुनेछ ।’

अर्का अभियानकर्ता राजानन्द माण्डपले आफूहरु स्वतन्त्र भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी नभएको बताए । आफुहरुकै अभियानले रवि लामिछानेको उक्त नामविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको उनले समेत बताए ।

पत्रकार सम्मलेनमा स्वतन्त्र उम्मदेवारी अभियानका संयोजक डम्बर साहुले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .