ad ad

कारोबार


बालेन्द्रकाे नीति कार्यक्रममा विद्यासुन्दरको छाया

केही नयाँ, धेरै पुरानै कार्यक्रम
बालेन्द्रकाे नीति कार्यक्रममा विद्यासुन्दरको छाया

निवर्तमान मेयर शाक्य र वर्तमान मेयर बालेन्द्र।


वसन्त अर्याल
असार ७, २०७९ मंगलबार ८:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पहिलो नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्। 

पूर्वमेयर विद्यासुन्दर शाक्यले ल्याएको चालू आर्थिक वर्षका अधिकांश नीति तथा कार्यक्रम नै बालेन्द्र शाहले अघि बढाएका हुन्। 

तत्कालीन मेयर शाक्यले २०७८ असार ६ गते २२७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मेयर बालेन्द्र शाहले २०७९ असार ५ गते १६२ बुँदामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। तत्कालीन मेयर शाक्यको भन्दा बालेन्द्रको नीति तथा कार्यक्रम केही छोटो र व्यवस्थित छ। 

असार ५ गतेको नगरसभाको ११औँ बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शाक्यले ल्याएका केही कार्यक्रम हटाएका छन् भने अधिकांशलाई निरन्तारता दिएका छन्।

उनले थोरै मात्रै नयाँ नीति ल्याएको देखिएको छ। मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान र साधना प्रधान सम्मान कार्यक्रमलाई हटाइएको छ। 

मेयर बालेन्द्र शाहले महानगरको सेवालाई चुस्त बनाउन सीसीटीभी जडान गर्ने उल्लेख छ। हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालनमा ल्याउने उल्लेख गरेका छन्। 

नयाँ कार्यक्रमको रुपमा एक वर्षभित्र काठमाडौं महानगरपालिकाको प्रथम आवधिक योजना २०७९–२०८४ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ। त्यस्तै महानगर क्षेत्रभित्र घरजग्गा र जग्गा बहालमा लिने दिने कार्यलाई कम्पनीमार्फत व्यवस्थित गर्न आवश्यक प्रबन्ध मिलाइने कार्यक्रम छ। ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।  

पूर्वमेयर शाक्यको नीति तथा कार्यक्रम र बालेन्द्रको कार्यक्रम क्षेत्रगत रुपमा समेटिएको छ। 

पुरानै शिक्षा नीति
शिक्षासम्बन्धी नीतिमा कुनै नौलो छैन। विद्यासुन्दर शाक्यकै नीतिलाई निरन्तरता दिएका छन्। मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा शिक्षा सुधार योजना तर्जुमा गर्ने विद्यासुन्दर शाक्यको कार्यक्रमले निरन्तरता पाएको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार पार्ने उल्लेख छ। विद्यासुन्दरको माध्यमिक तहको शिक्षालाई जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजानेसँग मिल्छ। 
उनले आफ्नो घोषणापत्रमा १ देखि ८ सम्मको पाठ्यक्रमलाई परिमार्जन गरी नेपालभाषा (नेवारी)मा पढाउने विषयलाई बालेन्द्रले पनि निरन्तरता दिएका छन्।  

आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरुको आम्दानीको निश्चित प्रतिशत महानगर शिक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको छ। महानगर शिक्षा कोष विद्यासुन्दरकै नीति तथा कार्यक्रमको निरन्तरता हो।  

त्यस्तै, आवासीय संस्थागत विद्यालयमा कम्तीमा १ जना चिकित्सकको प्रबन्ध गर्ने व्यवस्था गर्ने उल्लेख छ। विद्यासुन्दरको नीति तथा कार्यक्रममा विद्यार्थीको नियमित जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि स्वास्थ्यकर्मी खटाइने उल्लेख छ। 

दरबार हाइस्कुलमा प्रविधिमैत्री सिटी लाइबे्रेरी स्थापना गर्ने उल्लेख थियो। बालेन्द्रको कार्यक्रममा दरबार हाइस्कुललाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा सञ्चालन गर्ने आवश्यक प्रबन्ध मिलाउने उल्लेख छ।

सामुदायिक र संस्थागत विद्यालयबीच गुणस्तर आदानप्रदान अघिल्लै कार्यक्रमको निरन्तरता हो। बालेन्द्रले निजी विद्यालयहरुको शुल्क पुनरवलोकन गर्ने नीति ल्याएका छन्।  

स्वास्थ्य नीति : केही मिल्दो, केही फरक
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा शाक्यले कोभिड नियन्त्रणसम्बन्धी नीतिलाई प्राथमिकता दिएका थिए। विद्यासुन्दरको ज्येष्ठ नागरिकको उपचार गर्न १०० बेडको महानगर विशेष अस्पताल निर्माण गर्ने उल्लेख छ। हाल उक्त कार्यक्रम समेटिएको छैन। 

बालेन्द्रको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने उल्लेख छ। यो चालू आर्थिक वर्षकै कार्यक्रममा उल्लेख छ। 

विद्यासुन्दरकै नीति तथा कार्यक्रममा रहेको महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाउन बीमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनेलाई निरन्तरता दिइएको छ। 

विपन्न नागरिकलाई निःशुल्क बेड, एकीकृत एम्बुलेन्स सेवाले निरन्तरता पाएका छन्। ‘एक विद्यालय एक नर्स’ र ‘स्कुल सोसल वर्कर’ कार्यक्रमलाई आवश्यकताअनुसार विस्तार गर्दै कार्यक्रममा उल्लेख छ।   ​

  
पूर्वाधार विकासमा बालेन्द्रका केही नयाँ कार्यक्रम
बालेन्द्रले एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोनलगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने नयाँ कार्यक्रम ल्याएका छन्। 

हाल सडक मर्मतको योजनालाई बालेन्द्रले पूर्वाधार एम्बुलेन्स सेवालाई नयाँ प्याकेजमा ल्याएका छन्। जुन कार्यान्वयनमा ल्याइसकेका छन्। यसका लागि आवश्यक उपकरण तथा जनशक्तिको उचित व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ। 

त्यस्तै बसस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागतशैलीको फल्चा निर्माण गर्ने उल्लेख छ। साबिकमा महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित भवनको प्रबलीकरण गर्ने नीति ल्याएका छन्।  

अघिल्लै नीति तथा कार्यक्रममा रहेका पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको स्तरोन्नति, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्युत्, टेलिफोन, केवल टेलिभिजन, इन्टरनेटलगायतका तारहरु भूमिगत गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख रहेको छ। 

शाक्यको रानीपोखरी, शंङ्खधर पार्क र खुल्ला मञ्चलाई समेटी बृहत् रानीपोखरी विकाससम्बन्धी गुरुयोजना तर्जुमा गर्ने योजनालाई बालेन्द्रले खुल्ला मञ्चमा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि पूर्वधार निर्माण सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम ल्याएका छन्। बृहत् रानीपोखरी विकास गुरुयोजना नीति तथा कार्यक्रममा समेटिएको छैन। 

तीनकुनेको जग्गा विवाद समाधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी गर्ने उल्लेख छ। शाक्यले तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणका लागि जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न गरी सो पार्कको गुरुयोजना तर्जुमा गर्ने उल्लेख छ। 

भृकुटीमण्डपमा बहुउद्देश्यीय अत्याधुनिक मेगा हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन हटाइएको छ। 

काठमाडौँ उपत्यकाको मेट्रो स्थापनाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकायहरुसँग सहकार्य गर्ने उल्लेख छ। शाक्यले सुरुका नीति तथा कार्यक्रममा राखे पनि चालू आर्थिक वर्षको कार्यक्रमबाट हटाएका थिए। 

खानेपानी तथा सरसफाइ 
मेयर बालेन्द्रले महानगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संघ÷संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने र बोरिङ्ग गरी आएको स्थानमा रिभर्स बोरिङ्ग गर्ने नीति ल्याएका छन्।  

शाक्यले भने नीति तथा कार्यक्रममा रिचार्ज काठमाडौं अभियान ल्याएका थिए। यसअन्तर्गत महानगरपालिकाको प्रत्येक वडाको सार्वजनिक स्थलमा आकाशेपानी संकलन तथा पानी पुनर्भरण कार्य गरिने उल्लेख थियो। 

निजी क्षेत्रसँगको सहकार्यमा सार्वजनिक शौचालयहरु सञ्चालन तथा व्यवस्थापन गरी शौचालयको सुविधामा नागरिकको सहज पहुँच वृद्धि गर्ने बालेन्द्रले नीति ल्याएका छन्।

शाक्यले प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएका थिए। ‘सार्वसाधरणको रेष्टुरेन्ट, सपिङ मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुको शौचालयमा पहुँच अभिवृद्धि गर्ने’ शाक्यकै नीति तथा कार्यक्रममा उल्लेख थियो। 

यातायात क्षेत्रमा जीपीएस 
यातायातलाई व्यवस्थित गर्न निजी क्षेत्र र अन्य नगरपालिका समेतको लगानीमा उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा  जीपीएस ट्राकिङ सिस्टमसहितको सीसीटीभी जडान गर्ने बालेन्द्रको नीति तथा कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम पनि विद्यासुन्दरकै निरन्तरता हो। अहिले जीपीएससहित सीसीटीभी जडान गर्ने थप गरिएको छ। 

यात्रुहरुलाई विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने उल्लेख छ। अघिल्लो नीति तथा कार्यक्रममा पनि उल्लेख छ।

अघिल्लो नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकाको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गरिने उल्लेख रहेकोमा बालेन्द्रले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यकाभित्रका सबै सार्वजनिक यातायातलाई एउटै छातामुनि सञ्चालन गर्ने उल्लेख गरेका छन्। 

हाल भर्टिकल पार्किङ निर्माणका लागि निजी क्षेत्रलाई सहुलियत प्रदान गर्ने उल्लेख छ। शाक्यको नीति तथा कार्यक्रममा भर्टिकल पार्किक निर्माण तथा मेकानिकल पार्किङ सिस्टमको विकास गरिने उल्लेख छ। 

शाक्यको नीति तथा कार्यक्रममा माइतिघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण र अन्य स्थानमा सम्भाव्यता अध्ययन गर्ने उल्लेख रहेकोमा अहिले यो विषय समेटिएको छैन। 

संस्कृति सम्पदा तथा पर्यटन
अहिलेको नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भू र वसन्तपुर क्षेत्रको संरक्षण गरिने भनिएको छ। त्यस्तै स्वयम्भू र बौद्धको व्यवस्थापन काठमाडौँ महानगरपालिकाअन्तर्गत ल्याउन पहल गरिने पनि उल्लेख गरिएको छ। यो अघिल्लो नीति तथा कार्यक्रमकै साभार हो। 

महानगर क्षेत्रभित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवनशैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल बनाउने उल्लेख छ। अघिल्लो नीति तथा कार्यक्रममा विद्युतीय माध्यमबाट अभिलेखीकरण गर्ने उल्लेख थियो। 

महानगर क्षेत्रभित्र रहेका पुराना हिटी तथा पोखरीको पुनर्स्थापना, संरक्षण तथा सम्वर्द्धन गरिने पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्। 

प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाउने उल्लेख छ। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा हाँडीगाउँको लिच्छवीकालीन सम्भाव्यताबारे विस्तृत अनुसन्धान गरिने उल्लेख थियो। 

नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पूरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न पहल गर्ने व्यवस्था गर्ने नयाँ नीति लिइएको छ। त्यस्तै काठमाडौँमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ। 

अहिलेको नीति तथा कार्यक्रममा एम्पिथिएटर स्थापना, काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कलाको लागि ब्रान्डिङ गर्ने कार्यक्रम छ। 

फोहोर मैला व्यवस्थापन  
बालेन्द्रको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाउने उल्लेख छ। कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरबासीहरुका लागि सहयोग गर्ने उल्लेख छ। 

प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहोरमैलाको दिगो व्यवस्थापन गर्ने उल्लेख छ। जिरो वेष्ट अवधारणा कार्यन्वयन गरिने उल्लेख रहेको छ। 

फोहोर वस्तुको संकलन, ढुवानी, प्रशोधनबाट ऊर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेष्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने उल्लेख छ। 

पूर्व मेयर शाक्यको नीति तथा कार्यक्रममा ३ आरको सिद्धान्तअनुरुप फोहोरको न्यूनीकरण, पुनर्प्रयोग र प्रशोधन गर्न स्रोतमै फोहोरको वर्गीकरण गर्ने र ऊर्जा उत्पादनको लागि आवश्यक व्यवस्था मिलाइने उल्लेख छ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्ने र सिसिडोल साइटको पोष्ट क्लोजर गरी हरियालीयुक्त स्यानिटेसन पार्क निर्माण गर्ने उल्लेख छ। बालेन्द्रको नीति तथा कार्यक्रम उक्त विषय समावेश गरिएको छैन। 

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्रीवितरण र प्रयोगलाई प्रोत्साहन गर्ने अघिल्लै वर्षको नीतिलाई सारिएको छ। 

कृषि 
शाक्यले प्रत्येक वडामा कम्तीमा एक नमूना उपभोक्ता सहकारी संस्था स्थापना गरी बजार सञ्चालन गरिने उल्लेख रहेको थियो। त्यस्तै स्थानीय समुदायलाई करेसाबारी तथा कौसी खेती गर्न प्रोत्साहन, जग्गा एकीकरण आयोजनाभित्र शीत भण्डारसहितको आधुनिक तरकारी बजार, मुख्य–मुख्य स्थानमा खाद्य पदार्थको गुणस्तर परीक्षण मिलाउने नीति तथा कार्यक्रम ल्याएका थिए। 

मेयर बालेन्द्र शाहले पनि शीतभण्डारलाई निरन्तरता, खाद्यवस्तुको गुणस्तर परीक्षण, करेसाबारी, कौसीखेती तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने उल्लेख छ।
शाहले नयाँ नीतिको रुपमा छिमेकी जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी खाली रहेका जग्गाहरुमा अर्गानिक कृषिखेतीका लागि व्यवस्था मिलाइने उल्लेख छ। नमूनाको रुपमा काठमाडौं महानगरका केही स्थानमा केएमसी मार्ट निर्माण गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .