म्यागेजिन


रमा थपलियाको मातृत्व अनुभव : सन्तान भन्नु नै जीवन अल्झाएर राख्ने डोरी रहेछन्

रमा थपलियाको मातृत्व अनुभव : सन्तान भन्नु नै जीवन अल्झाएर राख्ने डोरी रहेछन्

कलाकार रमा थपलिया। तस्बिर : विजय सिंह/नेपालखबर


राधिका अधिकारी
असार ७ , काठमाडौँ

बुढ्यौलीको घाम तापिरहेकी रमा थपलियासँग हिजोआज धेरै रहर छैनन्। आफूले देखेका धेरै सपना उनी आफैँले पुरा गरिसकिन्। उनको रहर भन्नु अब विश्वका विभिन्न देशको भ्रमण गर्नु र त्यहाँको बारेमा जानकारी राख्नु हो।

उनकी आमा तेस्रो पटक बच्चा जन्माउन नसकेर बितिन्। त्यतिबेला रमा आठ वर्षकी थिइन्। उनले सानैबाट भाइको जिम्मेवारी उठाउनु पर्यो। भाइलाई आमाले गर्नुपर्ने सम्पूर्ण स्याहार रमाले गरिन्। सानै उमेरमा दिदी भएर आमाको भूमिका निर्वाह गरेकी रमाको कलिलो चेतनाले आमा खोजिरहन्थ्यो। त्यतिबेला उनलाई थाहा थिएन, आमा अब फर्किन्नन् भनेर। भाइ रुन्थे। उनले आमाको दूध खोजेका हुन् भन्ने पनि उनलाई थाहा थिएन।

सकेको घरधन्दा, भाइको स्याहार र स्कुल, रमाको बाल्यकाल त्यति सुखद रहेन। बुबा जमिन्दार हुनाले खानलाउन दुःख थिएन। तर, प्रत्येक गाँसमा मिसिने ममता थिएन, लुगा चटक्क मिलाएर लगाइदिने आमाका हात थिएनन्।

‘आमाबिनाको सुख के सुख!’ रमा भन्छिन्।

आमा बितेको वर्षदिन नपुग्दै बुबाले दोस्रो विवाह गरे।  

रमा हुर्किएको समय छोरीहरु बुबाआमाका पाप र पुण्य कमाउने साधन थिए। छोरीलाई महिनावारी हुनुअघि नै अन्माउने चाँजोपाँजो मिलाइन्थ्यो। ताकि धर्म आर्जन होस्। उनका बुबाले पनि रमालाई १३ वर्षको उमेरमै अन्माइदिए। त्यतिबेला उनी ७ कक्षामा पढ्दै थिइन्।

झुम्राको पुतली बनाएर ‘विवाह गरी’ खेल्दाखेल्दै बेहुली बनेकी उनलाई बुहार्तनको दुःख थाहा थिएन। थाहा नपाएरै उनले भोगिन्। 

बिहेको बेलामा उनका श्रीमान् २२ वर्षका थिए। उनी जनकपुरमा स्कुल पढाउँथे। बिहे गरेको केही समयपछि उनी काठमाडौँ आए। बिहेको अर्को वर्ष रमाको रजस्वाला भयो। त्यसपछि उनी पनि काठमाडौँ आइन्।

काठमाडौँको संघर्ष
डिल्लीबजारको साँघुरो कोठा। श्रीमानको एक्लो कमाइ। रमाको कच्चा उमेर। रमाका श्रीमान् टिचिङ अस्पतालमा काम गर्थे। त्रिचन्द्र क्याम्पस पढ्थे। गाडी चढ्दा घरखर्च चलाउन गाह्रो। त्यसैले उनी हरेक दिन बिहान डिल्लीबजारबाट टिचिङ, टिचिङबाट त्रिचन्द्र, त्रिचन्द्रबाट डिल्लीबजार हिँडेर ओहोरदोहोर गर्थे। 

रमा पद्मकन्या स्कुल भर्ना भएकी थिइन्। पाठ्यक्रममा नयाँ शिक्षा लागू भयो। पहाडमा घरको काम भ्याएर पढेको स्कुलको पढाइले काठमाडौँको पढाइ भेट्न सक्दैनथ्यो। रमालाई पाठ बुझ्नै निकै कठिन हुन्थ्यो। त्यही बेला उनी गर्भवती भइन्। उनको पढाइ छुट्यो।

रमा १५ वर्षको उमेरमा पहिलो पटक गर्भवती भइन्। उनको पेटमा पानी पनि अडिएन। खानाको त गन्धले नै उनलाई काम पुग्थ्यो। पल्लो घरमा पकाएको खानाको गन्धले वल्लो घरमा रमाको पेट बटाथ्र्यो। रमा सम्झिन्छिन्, ‘गर्भावस्थाको ९ महिना ९ माना चामल पनि खाइनँ होला। तर बाँच्न चाहिँ बाँचिदो रहेछ।’

भातमा नाक लागिहाल्यो। अरुथोक किनेर खाने अवस्था थिएन। रमासँग पेटमा पटुकी कस्नुसिवाय विकल्प भएन। 

‘त्यतिबेला रुखासुखा खान मन लाग्थ्यो। भुटेको मकै, अम्बा र भुटेको चना खान मन लाग्थ्यो। पैसा हुँदैनथ्यो,’ उनी सम्झिन्छिन्। 

भेटिनन् मनको बह पोख्ने ठाउँ 
काठमाडौंको बसाइ। माइती टाढा। माइती भए पनि आमा नभएको घर। सासूससुरा पनि काठमाडौँमा थिएनन्। अहिलेको जस्तो टेलिफोन थिएन। रमा गर्भावस्थाका आफ्ना दुःख पोख्ने ठाउँ भेट्दिनथिन्। श्रीमान् बिहानदेखि बेलुकासम्मै व्यस्त। बिदाको दिन पनि पतिपत्नी अहिलेजस्तो कुरा गरेर बस्ने प्रचलन थिएन। रमाले जीवनका थुप्रै अप्ठेरा मनमै गाँठो पारेर राखिन्।

कोठामा राजनीतिक र विद्रोही किताब थिए। रमाले तिनै किताबमा युद्धका कथा पढिन्। अस्पताल जाने, गर्भावस्थाको परीक्षण गर्ने चलन पातलो थियो। रमाले पनि बेला बेला अस्पताल गएर आफ्नो गर्भ जाँच गराइन्। अस्पतालले निःशुल्क आइरन र भिटामिन चक्की दिन्थ्यो। 

भदौको एक बिहान झमझम झरी परिरहेको थियो। बिहानको खाना खाएपछि रमालाई असजिलो भयो। त्यो दिन उनका श्रीमानको अफिस बिदा थियो। दिउँसो १२ बजेपछि ट्याक्सी लिएर रमा र उनका श्रीमान् थापाथली अस्पताल पुगे। पहिलो पटक आमा बन्दाको धमिलो सम्झना मात्रै बाँकी छ रमासँग। उनले धेरै कुरा भुलिसकिन्। तर उनलाई याद छ उनीजस्तै आमा बन्ने तयारीमा रहेका महिलाको चित्कार। असहनीय पीडा, नर्स र डाक्टरको अमिलो व्यवहार। 

अस्पताल भर्ना भएको साँझ रमाले छोरीलाई जन्म दिइन। उनकी छोरीको तौल निकै कम थियो, त्यसैले चार अस्पताल बस्नुपर्यो।

सुत्केरीमा पुगेन स्याहार
रमाले सुरुमा छोरीलाई दूध खुवाउन जानिनन्। त्यसैले दूध गानियो। निचोरेर दूध निकाल्दा घाउ भयो। अस्पताल गएर उपचार गर्न सकिनन्। बरु, पुतलीसडकका वैद्यकहाँ पुगिन्। वैद्यले औषधि दिए। सेक्ने उपकरण र दूध तान्ने पम्प दिए। 

रमालाई जेठी छोरी हुर्काउन गाह्रो भयो। घरमा नन्ददेवर साना थिए। सासू काठमाडौं आउन पाइनन्। माइतीमा आमा थिइनन्, सौतेनी आमा आइनन्। रमाको कलिलो हातले राम्रोसँग छोरी बोक्न पनि जान्दैनथे। त्यो समय अहिले जस्तो प्रशस्त कपडा थिएनन्। छोरीले बाक्लो थाङ्नामा सुत्न पनि पाइनन्। उनकी घरबेटी र वरपरकाले केही गुन्युका टाला दिन्थे। रमा अरुका आमा आएको देखेर मन अमिलो पार्दै सम्झिन्थिन्, ‘मेरी पनि आमा भए आउँथिन्, केही ल्याइदिन्थिन्।’ 

त्यो समय रमाकी घरबेटीले नै बच्चा स्याहार्न सिकाइन्। घरबेटी भन्थिन्, ‘बच्चाले बच्चा पाएपछि कसरी स्याहार्ने?’ अनि आफैँ बच्चालाई तेल घसिदिन्थिन्। न्यायो पारेर टालामा बेरिदिन्थिन् र सिकाउँथिन् छोरी बोक्ने तरिका। रमाकी जेठी छोरीले ५ महिना भएपछि सिलाएको लुगा लगाइन्। त्यो पनि घरबेटीले नै भातख्वाइका लागि सिलाइदिएकी थिइन्।

दुई सन्तानमा चित्त बुझाउने योजना भएन सफल 
जेठी छोरी अढाइ वर्षकी भएपछि रमा पुनः आमा बन्ने भइन्।

दोस्रो पटक दुई जिउकी हुँदा उनलाई धेरै कुरा थाहा भइसकेको थियो। वाक्वाकी लाग्दा पनि उनी दुःख मान्दिनथिने्। उनी हरेक कुरा समयसँगै सकिएर जान्छ भनेर सहन्थिन्। दोस्रो पटक भने रमालाई पाँच महिनापछि खाना रुच्यो। सुत्केरी व्यथाले लाग्ने साँझ पनि रमाले असनबाट रायोको साग ल्याएर साग र भात पेटभरि खाइन्।

खाना खाएर सुत्न खोज्दा रमाको पेट घुत्लुक्क गर्यो। त्यसपछि सहिनसक्नु दुखाइ भयो। उनी पुनः थापाथली अस्पताल भर्ना भइन्।

उनलाई दोस्रो पटक छोरा जन्मियोस् भन्ने चाहना थियो। घर परिवारले त छोरो चाहिन्छ भन्ने भइहाल्यो। तर दोस्रो सन्तान पनि छोरी नै जन्मिइन्। परिवारका अरुले प्रतिकृया दिनुअगावै रमाको मन अमिलो भयो, अनुहार मलीन भयो, आँखा एककोहोरिए। तर, छोरीको अनुहार देखेपछि त्यो निराशा उनले बिर्सिइन्।

‘भनेको जस्तो नभए पनि सन्तान भनेको सन्तान हुँदो रहेछ। छोरीको अनुहार देख्नासाथ एकछिनअघिको निराशा मायामा परिणत भयो,’ रमाले सुनाइन्।  

आफन्तले बारम्बार प्रश्न गरिरहन्थे, ‘छोरो कहिले?’ तर रमाको दम्पतीलाई दुई सन्तान भए पुग्यो भन्ने थियो। रमाकी सासू भनिरहन्थिन्, ‘एउटा छोरा चाहिन्छ।’ रमा भन्थिन्, ‘देवर जेठाजुका छोरा छन्, तिनै भए भइहाल्यो।’ 

सासू भन्थिन्, ‘आफ्नै छोराले त पाल्दैनन्, अर्काका छोराले तँलाई हेर्छन्? एउटा छोरो चाहिन्छ।’ सासूले जोखाना हेराउने, धामी देखाउने, दान दिने सबै गरिन्। रमा फेरि गर्भवती भइन् र यसपटक छोरा जन्मिए।

सन्तानसँगै हुर्कियो कलाकारिता
रमालाई यकिन याद छैन, उनको कलाकारिता छोरो जन्मिएपछि सुरु भयो या अघि नै। काठमाडौँ आएपछि पहिलो पटक फिल्म हेरेकी थिइन् उनले। त्यतिबेलै कलाकार बन्ने रहर पलाएको थियो। तर, त्यो रहर सुनाउने कोही थिएनन्। कान्छी छोरी जन्मिएपछि नर्सिङ क्याम्पसमा काम गर्न थालिन् उनी। त्यो स्थायी जागिर छाडेर उनी कला क्षेत्रमा प्रवेश गरेकी थिइन्।

छोराछोरी हुर्कंदै थिए। रमाले कला यात्रा सुरु गरिन्। सुरुवाती दिनमा श्रीमानले पनि नगर भनेका थिए। समाजले त राम्रो मान्ने कुरै थिएन। 

कलाकारितामा लागेर रमाले धेरै कुरा सुनेकी छिन्, भोगेकी छिन् र देखेकी छिन्। एकताका एक साप्ताहिक पत्रिकामा रमाको ठूलो फोटो छापिएको थियो। उनका बुबाले ‘यसले मेरो इज्जत फाली’ भनेर स्टेसनरीमै च्यातेर फलिदिए। 

तर रमाको अडानका अगाडि अरुको केही लागेन। उनले आफूलाई नेपाली फिल्म उद्योगमा स्थापित मात्रै गराएरै छाडिन्। त्यति मात्र होइन, थुप्रै छोरीहरुलाई बाटो पनि देखाइन्।

आफ्नो कामप्रति रमा सन्तुष्ट छिन्। तर, कला क्षेत्रलार्य राज्यले उपेक्षा गरेको उनको भनाइ छ।

भन्छिन्, ‘कलाकारिताबाट अवकाश पाएपछि केही सुविधा छैन। अभावमा रहनुपर्छ। हामीले आफूभन्दा अग्रज केही कलाकारको अवस्था देखेका छौँ। अभिनय गरून्जेल हो, छोडेपछि कसैले सम्झिँदैन। यो कुरो सम्झिँदा साह्रै दुःख लाग्छ।’

 

‘छोरीहरुलाई राम्रो पढाएको भए!
छोरीहरुलाई राम्रो शिक्षा दिन नसकेकोमा उनको मन अहिले पनि पोलिरहन्छ। रमाले छोरालाई निजी स्कुलमा पढाइन् भने छोरीहरुलाई सरकारी स्कुलमा। १० कक्षामा पढ्दापढ्दै जेठी छोरीको विवाह भयो, कान्छीको आईए पढ्दै गर्दा।  छोरीको भविष्यलाई शिक्षासँग जोडेर हेरिँदैनथ्यो। 

दुवै छोरीको घरव्यवहार राम्रै छ। जेठा ज्वाइँ प्राधिकरणका जागिरे, कान्छा वकिल। तर, समय फेरिँदै जाँदा उनको पछुतो बढ्दै गयो, ‘मैले सम्पत्ति जोड्न छाडेर छोरीहरु पढाएको भए!’ 

छोरीहरुले आफ्ना छोराछोरी हुर्कने क्रममा कहिलेकाहीँ गुनासो गरे, ‘हामीलाई पढाइदिनुभएन।’ त्यो बेला रमाको मन अमिलो हुन्थ्यो। आँखाका डिल भत्किन खोज्थे। उनी बलपूर्वक आँसु लुकाउँथिन् र भन्थिन् ‘तिमीहरुलाई के को कमी छ र?’ रमालाई अहिले लाग्छ, ‘पक्कै केही असहज महसुस गरेर त गुनासो गरे होला नि।’

रमाका तीनै सन्तान आमाबुबा भइसके। छोरीहरु त हजुरआमा बनिसके। नातिनातिना देशविदेशमा छन्। घरमा दुई नातिनी छन्। उनीहरुसँग खेल्दाखेल्दै उनको दिन बित्छ। भन्छिन्, ‘सन्तान भन्नु नै जीवन अड्काएर राख्ने डोरी रहेछन्।’

तस्बिरहरु : विजय सिंह/नेपालखबर

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad