कारोबार


मुख्यमन्त्रीले सुरु गरे धनकुटामा टेलिकमको उच्च गतिको डाटा र भ्वाइस सेवा

मुख्यमन्त्रीले सुरु गरे धनकुटामा टेलिकमको उच्च गतिको डाटा र भ्वाइस सेवा

नेपालखबर
असार ८, २०७६ आइतबार १०:५७,

 नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको सुरुवात धनकुटामा पनि गरेको छ।

कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो। धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरेका हुन्।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गरे। उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र सहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान पनि गरे।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताए।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न धनकुटा नगरपालिका समेत डिजिटलइज्ड प्रविधियुक्त भएकोमा खुसी व्यक्त गरे। सो अवसरमा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र धनकुटा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जङ्ग बहादुर राईले एफटीटीएचको शुभारम्भ गरेकोमा कम्पनीलाई धन्यवाद दिए। नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्त प्रबन्धक रामनरेश कुँवरले एफटीटीएच प्रविधिका विशेषता र वितरणका बारेमा जानकारी प्रदान गरे। कार्यक्रम नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक रामप्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो। हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) मार्फत ७ सय ५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिने छ । आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ। यस अन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ। नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन्। साथै नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ। पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन्। यो आईपीमा आधारित सेवा हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad