कारोबार


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८४ प्रतिशत सकियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८४ प्रतिशत  सकियो

सीबी अधिकारी
मंसिर १२, २०७६ बिहिबार ६:२१,

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ।

अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ। टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्ने गरी आयोजनाको कामको गति बढाइएको छ। पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई जिम्मेवारी दिएको छ।

आयोजनाको तयारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइएको छ। गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएका तिवारीले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको मातहतमा रहेर गौतमबुद्ध विमानस्थलको शीघ्र सञ्चालनको तयारीका लागि आवश्यक सहजकर्ताको काम गर्नेछन्।

गौतमबुद्ध विमानस्थलको पछिल्लो प्रगतिबारे पत्रकारलाई जानकारी दिँदै तिवारीले विमानस्थलको व्यावसायिक उडान सञ्चालनका आवश्यक पूर्वाधार तथा प्राविधिक उपकरण जडानको कामलाई तीव्रता दिइने बताए। तिवारीसहित प्राधिकरणका अन्य धेरै उच्च तहका कर्मचारीलाई विभिन्न विभागको जिम्मेवारी हेर्नेगरी सरुवा गरिएको छ।

अहिलेकै अवस्थामा निर्धारित समयभित्र उडान भर्न कठिनाइ रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको प्रगति रहे पनि विमानस्थलमा सञ्चारका उपकरण जडानका लागि लामो समय लाग्ने बताए। अबको नौ महिनापछि मात्रै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्न सकिने उनको भनाइ छ।

तर, हाल गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुखको रूपमा काम गरिरहनुभएका प्रवेश अधिकारीले विमानस्थल निर्माणको समग्रतामा ८४ दशमलव २५ प्रतिशत प्रगति भएको जानकारी दिए। उनका अनुसार अबको मुख्य काम विमानस्थलको टर्मिनल भवनको फिनिसिङ, टर्मिनल भवनभित्र जडान हुने केही उपकरण तथा धावनमार्ग र ट्याक्सी वेको काम धमाधम भइरहेको छ।

दुवै सत्रमा काम भइरहेको विमानस्थलमा रातिको समयमा टर्मिनल फिनिसिङको काम भइरहेको छ। विमानस्थलको कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आएको छ।

डिसेम्बर महिनाभित्र भौतिक संरचना निर्माण सक्ने र उपकरण जडानका समेत काम सकेर सन् २०२० मार्चको अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि दुई वर्षको निर्माण समयावधि थपिएको थियो। यो आयोजनका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad