कारोबार


श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं, आत्तिनु पर्दैन: पूर्वगभर्नर नेपाल

श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं, आत्तिनु पर्दैन: पूर्वगभर्नर नेपाल

नेपालखबर
चैत २९, २०७८ मंगलबार १८:३, काठमाडौँ

देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको दाबी गरेका छन्। 

समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गरेका छन्। 

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले हाल देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्। 

‘अहिले जुन रूपमा समस्या सुनिएको छ, त्यो रूपमा अर्थतन्त्रको समस्या छैन। अहिलेको समस्या छिट्टै समाधान हुन्छ’, उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको दाबी गर्दै  भने। 

पूर्वगभर्नर डा नेपालले थपे, ‘श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ। हामी सबैले संयमता अपनाउनुपर्छ। अहिले आत्तिनुपर्ने अवस्था छैन। यो समस्या छिट्टै नै समाधान हुन्छ। त्यो तहबाट गुज्रिएका छैनौँ तर, सतर्कता भने हुनुपर्छ।’

नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने भएको तथ्य पेस गर्दै उनले सरकारको सल्लाहकारका रूपमा काम गर्नुपर्ने बताए। 

उनले कोभिडपछिको अवस्थामा बजेटले केही विषयमा सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गरे। नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको उल्लेख गर्दै हाल विदेशी सञ्चिति कम हुनुको पछाडि पर्यटन क्षेत्र ठप्प हुँदाको असर देखिएको उल्लेख गरे।

विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यस खालको नीति लिनुपर्नेमा जोड दिँदै उनले  युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad