कारोबार


गभर्नरलाई कारबाही गरेपछिको पहिलो कारोबार दिन सेयरबजारमा ‘नेगेटिभ’ उछाल

गभर्नरलाई कारबाही गरेपछिको पहिलो कारोबार दिन सेयरबजारमा ‘नेगेटिभ’ उछाल

नेपालखबर
चैत २८, २०७८ सोमबार १५:१४, काठमाडौँ

लगानीकर्ताविरोधी नीति लिएको भन्दै राजीनामा नै माग भएका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछिको पहिलो कारोबार दिन सेयरबजारमा ‘नेगेटिभ’ उछाल आएको छ। 

आइतबार रामनवमीको सार्वजनिक विदापछि सोमबार खुलेको बजारमा परिसूचक नेप्से ४४.६४ अंकले र सेन्सिटिभ सूचक ९.३८ अंकले घटेको हो। 

सरकारले गभर्नरमाथि अनुसन्धान गर्न गत बिहीबार जाँचबुझ समिति गठन गरेको थियो। सोसँगै सेयरबजारका विरोधी बनाइएका गभर्नर निलम्बित भएका थिए। 

आज २ सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ४० हजार ५०७ पटकको खरिदबिक्रीमा २ अर्ब २६ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

सुरुमा २९ अंकले बढेको सेयरबजारमा कारोबार समय सकिँदा दोहोरो अंकले घटेर २४१९.७१ विन्दुमा रोकिएको छ। 

यसले सेयरबजारमा तत्काल सुधार नहुने संकेत गरेको छ। किनभने हाल निलम्बित गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत अख्तियार गरेको नीतिका कारण सेयरबजार घटिरहेको लगानीकर्ताले आरोप लगाउँदै आएका थिए। उनी निलम्बनमा परेपछि लगानीकर्ता आश्वस्त हुने र बजारमा सकारात्मक प्रभाव देखिने अनुमानविपरीत बजार उकालो लागेन। 

आज १३ वटै उपसूचकहरु राताम्य रहेका छन्। १७ कम्पनीको सेयर मात्र बढ्दा १७६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटाको उही अवस्थामा छ। 

आजको कारोबारमा नेस्डो र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशत कमाए पनि बाँकी लगानीकर्ताले ३ प्रतिशत पनि कमाउन सकेनन्। 

आज इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेपाल टेलिकमका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। 

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १६ करोडको कारोबार भएको छ भने दोस्रो धेरै कारोबार निफ्राको छ। उसको ७ करोडको, नबिल बैंकको ६ करोडको, एनआईसी एसियाको ६ करोड र हिमालयन डिस्टिलरीको ६ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad