कारोबार


एडीबीले भन्यो : हाम्रा परियोजनामा अपेक्षाअनुसारको वित्तीय प्रगति भएन

एडीबीले भन्यो : हाम्रा परियोजनामा अपेक्षाअनुसारको वित्तीय प्रगति भएन

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ८:२,

एसियाली विकास बैंक (एडीबी)ले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षाअनुरुप नभएको जनाएको छ। बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समीक्षामा एसियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन्।

समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्नेतर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे। सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलरदेखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए। परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए। एडीबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन। एसियाली विकास बैकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो।

समीक्षा बैठकमा राजस्व सचिव शिशिर ढुंगानाले एडीबीले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतीहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए। सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिए। उनले लगानी अभिवृद्धिका लागि अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको समेत बताए।

एडीबीले हालसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलरबराबरको लगानी गरेको छ। एडीबीको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ। एडीबीले नेपालमा ऊर्जा, यातायात, शिक्षा, खानेपानी, सहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad