कारोबार


गभर्नर अधिकारीद्वारा विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

गभर्नर अधिकारीद्वारा विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १३:४१, काठमाडौँ

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यन्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ।

२०७८ फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका हुन्।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखेका हुन्।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए। साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए। सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे। 

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ। उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । 

उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६x६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट इँट्टाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ। 

यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएसमार्पmत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad