कारोबार


इन्डियन आयल कर्पोरेसनलाई निगमले पठायो १३ अर्ब

इन्डियन आयल कर्पोरेसनलाई निगमले पठायो १३ अर्ब

नेपालखबर
माघ १०, २०७८ सोमबार १२:२४, काठमाडौँ

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । 

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। निगमले आज आइओसीलाई १३ अर्ब २० करोड पठाएको छ। 

सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो । 

कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालनं) नियमावली’ जारी गरेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । 

सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आइओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् । 

निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad